जनता टाइम्स

७ मंसिर २०८३, सोमबार ०७:४२

दार्चुलाको मोटरेबल पुल प्रधानमन्त्री शाह र मोदीले आज संयुक्त रूपमा उद्घाटन गर्ने


दार्चुला, मंसिर ७ । नेपाल र भारतलाई सडक सञ्जालमार्फत जोड्ने उद्देश्यले महाकाली नदीमाथि निर्माण गरिएको दार्चुलाको मोटरेबल पुल आज दुई देशका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गर्ने भएका छन् ।

दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड राज्यस्थित पिथौरागढ जिल्लाको धारचुला तहसिलअन्तर्गत छारछुम जोड्ने पुलको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।

भारतको धारचुला तहसिलका तहसिलदार दमनशेखर राणाका अनुसार उद्घाटनका लागि आवश्यक तयारी भइरहेको छ । यद्यपि, उद्घाटनको समय भने अझै निश्चित भइसकेको छैन ।

दुई देशका प्रधानमन्त्रीबाट संयुक्त रूपमा उद्घाटन हुने भएपछि भारतीय पक्षले पुल क्षेत्रमा आवश्यक सजावट, प्राविधिक उपकरण र भर्चुअल कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ । उद्घाटनका लागि आवश्यक तयारी पूरा गर्न भारतको केन्द्र सरकारबाट पत्राचारसमेत भइसकेको तहसिलदार राणाले जानकारी दिनुभयो ।

भारतको करिब ३३ करोड भारु लगानी

भारत सरकारको पूर्ण आर्थिक सहयोगमा निर्माण गरिएको उक्त पुलको शिलान्यास २०७९ असोज ३ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडु र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले संयुक्त रूपमा गर्नुभएको थियो ।

भारतीय निर्माण कम्पनी पी एन्ड आर इन्फ्राप्रोजेक्ट लिमिटेड, पञ्जाबले ३२ करोड ९८ लाख भारतीय रुपैयाँको लागतमा पुल निर्माण गरेको हो । महाकाली नदीमाथि बनेको ११० मिटर लामो दुई लेनको यो पुल नेपाल–भारतबीच सीमा पूर्वाधार विकास र आपसी सम्पर्क विस्तारका दृष्टिले महत्वपूर्ण मानिएको छ ।

पुल उद्घाटनसँगै सञ्चालनको तयारी पनि अघि बढाइएको छ । नेपालतर्फ सीमा सुरक्षा र भन्सार व्यवस्थापनका लागि अस्थायी संरचना निर्माण भइरहेको छ । पुल सञ्चालनमा आएपछि यात्रु तथा सवारीसाधनको आवागमन व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गर्ने तयारी गरिएको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलका अनुसार नेपाली भूभागतर्फ प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयका लागि अस्थायी संरचना निर्माण भइरहेको छ । प्रहरी बस्न आवश्यक संरचना तयार भइसकेको र भन्सारका लागि अस्थायी संरचना निर्माण भइरहेको उहाँले जानकारी दिनुभयो ।

भारतले निर्माण गरेको पुल सञ्चालनका लागि दुवै देशबीच प्रशासनिक तथा प्राविधिक समन्वय आवश्यक पर्नेछ । उद्घाटनको कार्यक्रम तय भएसँगै नेपालतर्फ सीमा सुरक्षा, भन्सार र आवागमन व्यवस्थापनको तयारीलाई तीव्रता दिइएको छ ।

पुल सञ्चालनमा आएपछि भारतबाट दार्चुला हुँदै सुदूरपश्चिमका धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ । अपि हिमाल, मालिकार्जुन धाम र शैल्यशिखर क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत पुलले सहयोग पुर्‍याउने स्थानीयको विश्वास छ ।