जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार १३:२१

सुनकोसी–मरिण आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : मनिष झा


काठमाडौं, मंसिर ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेसमा आन्दोलन हुन सक्ने चेतावनी दिनुभएको छ ।

मंगलबार प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले आयोजना अलपत्र पार्ने नभई समयमै सम्पन्न गर्ने स्पष्ट कार्ययोजना सरकारसँग माग गर्नुभयो ।

सांसद झाले सुनकोसी–मरिण डाइभर्सन मधेसका पाँच जिल्लाको कृषि र सिँचाइसँग जोडिएको महत्वपूर्ण आयोजना भएको बताउनुभयो । करिब छ वर्षअघि सुरु भएको यस आयोजनाबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही भागमा गरी एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । आयोजनाबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत छ ।

१३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु सन् २०२४ मे महिनामै भइसके पनि बाँधलगायत संरचना निर्माणको काम अघि बढ्न नसकेको भन्दै झाले त्यसको कारण स्पष्ट पार्न माग गर्नुभयो ।

आयोजना अघि नबढ्नुको कारण, देखिएका अनियमितता र अबको कार्ययोजनाबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने उहाँको भनाइ थियो ।

“यो आयोजना रद्द भयो भने मधेस आन्दोलित हुनेबाहेक अर्को कुनै विकल्प हुँदैन,” झाले बैठकमा भन्नुभयो ।

उहाँले मधेसमा खेतीयोग्य जमिन नै प्रमुख स्रोत भएकाले सिँचाइ विस्तारका लागि आयोजना महत्वपूर्ण रहेको बताउनुभयो । सुनकोसीको पानी मरिण हुँदै मधेसमा पुर्‍याउँदा कृषि उत्पादन बढाउनुका साथै बढ्दो पानीको अभाव र मरुभूमीकरण रोक्नसमेत सहयोग पुग्ने उहाँको भनाइ छ ।