काठमाडौं, मंसिर ८ । चीनले नेपालमा बाढीपहिरोलगायत विपद्पछिको पुनर्निर्माणका लागि सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सको प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो ।
हालैको बाढीपछि पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने नेपालको योजनामा चीनले सहयोग गर्ने संकेत गरेको, तर रकम नतोकेको तथा पूर्वसूचना र जलवायु तथ्याङ्क आदानप्रदान गर्न सहमत भएको विषयमा रोयटर्सले चीनको धारणा मागेको थियो ।
जवाफमा प्रवक्ता गुओले विपद्ले ठूलो क्षति पुर्याएको र पुनर्निर्माणमा गम्भीर चुनौती रहेको बताउनुभयो । चीनले घटनाक्रमलाई नजिकबाट नियालिरहेको र विपद्बाट प्रभावित नेपाली जनताको दुःखमा साथ रहेको उहाँको भनाइ छ ।
यसअघि उपलब्ध गराइएको आपत्कालीन सहायताका अतिरिक्त प्रभावित क्षेत्रका नागरिकलाई घर पुनर्निर्माण गर्न तथा जनजीवन र रोजगारीलाई छिटो सामान्य अवस्थामा फर्काउन चीनले नेपालको पुनर्निर्माण प्रयासमा सक्रिय सहयोग गर्ने उहाँले बताउनुभयो ।
प्राकृतिक विपद्बाट सिर्जित जोखिम र चुनौती सामना गर्न नेपालको विपद् रोकथाम तथा न्यूनीकरण क्षमता अभिवृद्धिमा समेत चीनले सहयोग गर्ने प्रवक्ता गुओले उल्लेख गर्नुभयो ।
चीन र नेपाल हिमाल तथा नदीले जोडिएका मित्रवत् छिमेकी भएको उल्लेख गर्दै उहाँले नेपालको उत्तरी क्षेत्रमा गएको ठूलो गेग्रानसहितको बाढीपछि चीनले तत्काल आपत्कालीन सहायता घोषणा गर्नुका साथै उद्धारमा सहकार्य गरेको स्मरण गराउनुभयो ।
उहाँका अनुसार चिनियाँ सरकारले नेपाललाई नगद सहायता र पाँच खेप आपत्कालीन राहत सामग्री उपलब्ध गराएको थियो । त्यस्तै, सुरुङ उद्धार र विधि विज्ञान पहिचानमा विशेषज्ञता हासिल गरेका २० भन्दा बढी विज्ञ नेपाल पठाएको थियो ।
चीनले मौसम, जल तथा भूगर्भसम्बन्धी तथ्याङ्कसमेत निरन्तर आदानप्रदान गरेको प्रवक्ता गुओले जानकारी दिनुभयो । चीनका विभिन्न क्षेत्रका नागरिकले पनि नेपाली जनताप्रति सद्भाव र समर्थन व्यक्त गर्दै सहयोगको हात बढाएको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्