जनता टाइम्स

८ मंसिर २०८३, मंगलबार २१:०४

पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित हुँदै एसिया कपबाट बाहिरियो नेपाल


काठमाडौं, मंसिर ८ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगितामा पाकिस्तान ‘ए’सँग ९६ रनले पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

समूह ‘बी’ अन्तर्गत मंगलबार भएको अन्तिम खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो ।

नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ४१ रन बनाए । बशिर अहमदले ११ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका ६ जना ब्याटर शून्य रनमै आउट भए ।

पाकिस्तानका मोहम्मद हसनैन र सुफ्यान मोकिमले तीन–तीन विकेट लिए । मोहम्मद इमरानले दुई तथा माज सदाकतले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ ४२ ओभरमा १६८ रनमा समेटिएको थियो । उसका लागि रोहेल नजिरले अविजित ६४ रन बनाए । उनले ८३ बलमा चार चौका र तीन छक्का प्रहार गरे । हसन नवाजले २८, हैदर अलीले १५, माज सदाकत र कप्तान अब्दुल समादले समान १३ तथा अहमद दनियालले १६ रन बनाए ।

नेपालका अलराउन्डर रासिद खानले पाँच विकेट लिए । अभिषेक गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।

समूह चरणमा नेपालले तीन खेलमध्ये एकमा मात्रै जित निकाल्यो । पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा यूएईलाई ६ विकेटले पराजित गरेको थियो ।

पाकिस्तान ‘ए’ भने समूह चरणका तीनै खेलमा अपराजित रहँदै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । उसले पहिलो खेलमा यूएईलाई ६१ रन र दोस्रो खेलमा भारत ‘ए’लाई ४८ रनले हराएको थियो ।

समूह ‘बी’बाट पाकिस्तान ‘ए’सँगै भारत ‘ए’ पनि उपविजेताका रूपमा सेमिफाइनलमा पुगेको छ ।