जनता टाइम्स

९ मंसिर २०८३, बुधबार ०९:४९

बंगलादेशमा प्रहरीमाथि आक्रमण बढ्दो, १० महिनामा ४८४ घटना; पाँच प्रहरीको मृत्यु


काठमाडौँ, मङ्सिर ९ ।बंगलादेशमा प्रहरीमाथि आक्रमणका घटना तीव्र रूपमा बढ्दै गएका छन् । अपराधी पक्राउ गर्नेदेखि लागूऔषधविरुद्धको कारबाही र नियमित गस्तीमा खटिएका प्रहरीसमेत निशानामा पर्न थालेपछि देशको सुरक्षा अवस्था र कानून कार्यान्वयन क्षमतामाथि गम्भीर प्रश्न उठ्न थालेको छ ।

प्रहरी प्रधान कार्यालय र बंगलादेश प्रहरी संघको तथ्यांकअनुसार सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म देशभर प्रहरीमाथि ४८४ वटा आक्रमण भएका छन् । ती घटनामा चार प्रहरीको मृत्यु भएको छ भने ३७० जना गम्भीर घाइते भएका छन् ।

नोभेम्बर २२ मा नारायणगञ्जमा थप एक प्रहरीको हत्या भएपछि यस वर्ष आक्रमणमा ज्यान गुमाउने प्रहरीको संख्या कम्तीमा पाँच पुगेको छ । नोभेम्बरका पहिलो २३ दिनमा मात्रै कम्तीमा २१ प्रहरी घाइते भएका छन् ।

तथ्यांकअनुसार अप्रिलमा सबैभन्दा धेरै ६६ वटा आक्रमण भएका थिए । मार्चमा ६३ र मेमा ५५ घटना भएका थिए । त्यसपछि केही कमी आए पनि मासिक आक्रमणको संख्या ४० भन्दा तल झरेको छैन । अक्टोबर र नोभेम्बरमा पुनः आक्रमणका घटना बढेका छन् ।

प्रहरीमाथि हुने आक्रमण व्यक्तिगत कुटपिटमा मात्रै सीमित छैन । प्रहरी अधिकारीको हत्या, प्रहरी चौकीमा आगजनी, सरकारी हतियार लुटपाट र हिरासतबाट अभियुक्तलाई बलपूर्वक छुटाउनेजस्ता गम्भीर घटना पनि बढिरहेका छन् ।

अपरेसनमा खटिएका प्रहरी नै निशानामा

पछिल्लो घटनामा नोभेम्बर २२ मा नारायणगञ्जको फतुल्लाहमा सादा पोसाकमा सूचना संकलन गरिरहेका प्रहरी जवान अनवर मोल्लाको आक्रमणमा परी मृत्यु भयो । उनीसँगै रहेका सहायक उपनिरीक्षक अब्दुस सत्तार भने जोगिनुभयो । घटनापछि उहाँलाई जिम्मेवारीबाट हटाएर प्रहरी लाइनमा राखिएको छ ।

यसअघि अक्टोबर ८ मा खुल्नाको रुप्सामा अपरेसन सकेर फर्कँदै गरेका प्रहरी निरीक्षक मोहम्मद शाह आलमको पनि आक्रमणमा मृत्यु भएको थियो । सेप्टेम्बरको पहिलो साता सावरको अमिनबजारमा कुटपिटको विरोध गर्दा विशेष शाखाका उपनिरीक्षक अल्ताफ हुसेनलाई कुटपिट गरी हत्या गरिएको थियो ।

मार्चयता नारायणगञ्जमा मात्रै प्रहरी र र्‍यापिड एक्सन बटालियन (र्‍याब)का सदस्यलाई लक्षित गरी कम्तीमा ११ वटा आक्रमण भएका छन् । लागूऔषध कारोबारीविरुद्ध कारबाही गर्दा पनि सुरक्षाकर्मीमाथि आक्रमण हुने गरेको छ ।

नोभेम्बर ५ मा रुपगञ्जमा सशस्त्र प्रहरी बटालियनका सदस्य अबुल कलाममाथि लागूऔषध कारोबारीले निर्मम कुटपिट गरेको आरोप छ । त्यस्तै, नोभेम्बर १० मा कुस्तिया सरकारी कलेजमा लागूऔषधविरुद्धको अभियान सञ्चालन गरिरहेका जिल्ला गुप्तचर शाखाका तीन प्रहरीमाथि आक्रमण भएको थियो ।

प्रहरी चौकीमा आगजनी र हतियार लुटपाट

प्रहरीमाथि व्यक्तिगत रूपमा हुने आक्रमणसँगै प्रहरी चौकीसमेत हिंसाको निशानामा पर्न थालेका छन् । गोपालगञ्जका दुई प्रहरी चौकीमा केही दिनको अन्तरालमै आक्रमण, तोडफोड, आगजनी र लुटपाट भएका छन् ।

नोभेम्बर १७ मा टुङ्गीपारा प्रहरी चौकीमा आक्रमण गरी आगजनी गरिएको थियो । घटनामा चौकीको भौतिक संरचनासहित ठूलो संख्यामा सवारीसाधनमा क्षति पुगेको थियो । सरकारी हतियारका साथै सर्वसाधारणले बुझाएका हतियारसमेत लुटिएका थिए ।

त्यसको दुई दिनपछि नोभेम्बर १९ मा मुक्सुदपुर प्रहरी चौकीमा आक्रमण गरी आगजनी गरियो । आगलागीमा महत्त्वपूर्ण कागजात, प्रहरीका सवारीसाधन र नियन्त्रणमा राखिएका अन्य गाडी जलेर नष्ट भए ।

यी आक्रमणमा प्रतिबन्धित अवामी लिग र त्यसको विद्यार्थी संगठन बंगलादेश छात्र लिगका नेता तथा कार्यकर्ता संलग्न रहेको आरोप लगाइएको छ । आगजनीका कारण दुवै प्रहरी चौकीको नियमित काम प्रभावित भएको छ भने स्थानीय बासिन्दालाई प्रहरी सेवा लिनसमेत कठिनाइ भएको छ ।

नोभेम्बर १८ मा चटगाउँको मुरादपुरस्थित प्रहरी बिटमा पनि आगजनी भएको थियो ।

प्रहरी चौकीमाथिको आक्रमणले भौतिक संरचनामा क्षति पुर्‍याउनुका साथै अपराधसम्बन्धी अभिलेख, सूचना र प्रमाण नष्ट हुने जोखिम बढाएको छ । यसले अनुसन्धान तथा न्यायिक प्रक्रिया प्रभावित पार्नुका साथै नागरिकको सुरक्षामा समेत असर पार्न सक्छ ।

हिरासतबाट अभियुक्त खोस्ने क्रम बढ्दो

पक्राउ परेका अभियुक्तलाई प्रहरी नियन्त्रणबाटै बलपूर्वक छुटाउने घटना पनि बंगलादेश प्रहरीका लागि अर्को चुनौती बनेको छ ।

नोभेम्बर २२ मा ब्राह्मणबरियाको अखौरा प्रहरी चौकीमा विस्फोटक पदार्थसम्बन्धी मुद्दाका अभियुक्त तथा नेसनल सिटिजन पार्टी (एनसीपी)का उपजिल्ला तहका सहसंयोजक सायब अलीको गिरफ्तारीलाई लिएर आक्रमण र प्रहरीसँग झडप भएको थियो । घटनामा कम्तीमा सात प्रहरी घाइते भएका थिए ।

यसअघि नोभेम्बर ६ मा बोगुराको सोनातलामा ठगी मुद्दाका एक अभियुक्तलाई प्रहरी हिरासतबाटै खोसिएको थियो । आक्रमणकारीले प्रहरीको गाडीसमेत तोडफोड गरेका थिए ।

सेप्टेम्बरमा सुनामगञ्जको शान्तिगञ्ज र जुलाईमा कक्सबजारको कुतुबदियामा पनि प्रहरीमाथि आक्रमण गरी पक्राउ परेका अभियुक्तलाई छुटाइएको थियो ।

यस्ता घटनाले पक्राउ पुर्जी कार्यान्वयन गर्ने र नियमित प्रहरी कारबाही सञ्चालन गर्ने कामसमेत जोखिमपूर्ण बनाएको छ ।

राजनीतिक प्रभाव र दण्डहीनताले बढायो चुनौती

विश्लेषकहरूका अनुसार प्रहरीमाथि आक्रमण बढ्नुमा संगठित आपराधिक समूहको गतिविधि, राजनीतिक प्रभाव र भीडले आफैं कानून हातमा लिने प्रवृत्तिलगायतका कारण जिम्मेवार छन् ।

प्रहरीमाथि भएका आक्रमणका घटनामा अनुसन्धान र मुद्दाको प्रगतिबारे स्पष्ट विवरण सार्वजनिक नहुनु पनि चिन्ताको विषय बनेको छ । घटना भएपछि मुद्दा दर्ता र अभियुक्त पक्राउ परेको समाचार सार्वजनिक हुने गरे पनि कति अनुसन्धान पूरा भए र कति मुद्दामा अभियोगपत्र दायर भयो भन्ने विवरण उपलब्ध छैन ।

सन् २०२४ को जनविद्रोहका क्रममा प्रहरीले गरेको घातक बल प्रयोग र त्यसपछि प्रहरीमाथि भएका हिंसाका असरसमेत अझै कायम छन् । प्रहरीको व्यावसायिक क्षमता, मनोबल र जनविश्वास पुनःस्थापित गर्ने चुनौतीबीच सुरक्षाकर्मीले निरन्तर आक्रमणको सामना गर्नुपरेको छ ।

ढाका विश्वविद्यालयको सामाजिक कल्याण तथा अनुसन्धान संस्थानका सहप्राध्यापक एवं अपराध विश्लेषक डा. तौहिदुल हकले प्रहरीमाथि देशका विभिन्न भागमा दोहोरिरहेका आक्रमणलाई कानून व्यवस्थाका दृष्टिले गम्भीर चिन्ताको विषय बताउनुभएको छ ।

उहाँका अनुसार प्रहरी कर्मचारीको सुरक्षासँगै यो राज्यको कानून कार्यान्वयन गर्ने क्षमता र अधिकारसँग पनि जोडिएको विषय हो । संगठित समूहले प्रहरीमाथि आक्रमण गर्ने वा हिरासतबाट अभियुक्त खोस्ने घटनाले सर्वसाधारणमा समेत असुरक्षाको भावना फैलाउने उहाँको भनाइ छ ।

उहाँले दण्डहीनताको संस्कृति, राजनीतिक प्रभाव, प्रहरीप्रतिको जनविश्वासको कमी र अपराधीको बढ्दो उच्छृङ्खल व्यवहारले यस्ता घटना बढाउन सक्ने बताउनुभएको छ ।

राजनीतिक आबद्धता नहेरी घटनामा संलग्नलाई शीघ्र अनुसन्धान र न्यायिक प्रक्रियामार्फत कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ । प्रहरीको व्यावसायिकता, जवाफदेहिता र जनविश्वास पुनःस्थापित गर्न नसके कानून व्यवस्थाको अवस्था थप जटिल बन्न सक्ने उहाँको चेतावनी छ ।

प्रहरीको मनोबल कमजोर पार्ने प्रयास सह्य हुँदैन : प्रहरी प्रधान कार्यालय

प्रहरी प्रधान कार्यालयका अधिकारीहरूले अव्यवस्थित भीड नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि आक्रमण हुने गरेको बताएका छन् । सार्वजनिक जीवनमा अस्थिरता सिर्जना गर्न केही समूह अझै सक्रिय रहेको उनीहरूको भनाइ छ ।

यद्यपि, प्रहरीले परिस्थितिको सामना गर्दै जिम्मेवारी निर्वाह गरिरहेको र आक्रमण तथा हिंसाका घटनामा मुद्दा दर्ता गरी आरोपितलाई अदालतमा उपस्थित गराउने काम भइरहेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयकी सहायक प्रहरी महानिरीक्षक (एआईजी) तथा सञ्चार एवं जनसम्पर्क प्रमुख कमरुन मुनिराले आक्रमण कुनै योजनाबद्ध प्रयासको हिस्सा हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको बताउनुभएको छ ।

कानून कार्यान्वयन गर्ने निकायका कर्मचारीको मनोबल कमजोर पार्ने वा प्रहरीलाई जिम्मेवारी निर्वाह गर्न अवरोध पुर्‍याउने उद्देश्यले हुने आक्रमण सह्य नहुने उहाँको भनाइ छ ।

उहाँका अनुसार अग्रपंक्तिमा खटिने प्रहरीको सुरक्षा बलियो बनाउन, जोखिमयुक्त क्षेत्रमा निगरानी बढाउन, गुप्तचर सूचना संकलन तीव्र पार्न तथा आक्रमणमा संलग्न व्यक्तिको पहिचान गरी कानूनी दायरामा ल्याउन निर्देशन दिइएको छ ।

प्रहरीलाई आवश्यक सुरक्षा उपकरण र तालिम उपलब्ध गराउने विषयलाई पनि प्राथमिकता दिइएको उहाँले बताउनुभएको छ ।

प्रहरीले नागरिकको ज्यान र सम्पत्तिको सुरक्षा गर्ने भएकाले प्रहरीमाथिको आक्रमण कानून व्यवस्था कायम गर्ने राज्यको जिम्मेवारीमाथिकै आक्रमण भएको उहाँको भनाइ छ ।