काठमाडौँ, मङ्सिर १० । यूईएफए च्याम्पियन्स लिग फुटबलमा गएराति भएका खेलमा बार्सिलोना र लिभरपुलले जित निकालेका छन्। साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) भने रोमासँग बराबरीमा रोकिँदा बायर्न म्युनिख लिलसँग पराजित भएको छ।
अलेक्जेन्डर इसाकको दुई गोलको मद्दतमा लिभरपुलले क्लब ब्रुगलाई उसकै मैदानमा ३–० गोलले हरायो। लिभरपुलका लागि फ्लोरियन विर्ट्जले अर्को गोल गर्नुभयो।
बार्सिलोनाले सबाहलाई ४–१ गोलले पराजित गर्यो। बार्सिलोनाका लागि एन्थोनी गोर्डनले दुई तथा करिम एडेयेमी र ग्याब्रियल जिससले एक–एक गोल गर्नुभयो। सबाहका जोय–लान्स मिकेल्सले एक गोल फर्काउनुभयो। जितसँगै बार्सिलोना र लिभरपुल लिग तालिकाको क्रमशः चौथो र पाँचौँ स्थानमा उक्लिएका छन्।
घरेलु मैदानमा खेलेको पीएसजी रोमासँग २–२ गोलको बराबरीमा रोकियो। रोमाका लागि मारियो हर्मोसो र डोन्येल मालेनले गोल गर्दा पीएसजीका इलिया जाबार्नी र ओस्मान डेम्बेलेले गोल गर्नुभयो। यो बराबरीसँगै पीएसजीको शतप्रतिशत जितको यात्रा टुङ्गिएको छ। लिग चरणमा शतप्रतिशत जित कायम राख्ने टोली रियल मड्रिड मात्रै बनेको छ।
स्पोर्टिङ सीपी र म्यानचेस्टर युनाइटेडबीचको खेल पनि २–२ गोलको बराबरीमा सकियो। पूर्वक्लबविरुद्ध ब्रुनो फर्नान्डेसले दुई गोल गर्नुभयो। तर, खेलको ८०औँ मिनेटमा लुइस सुआरेजले ओभरहेड किकमार्फत गोल गर्दै स्पोर्टिङलाई बराबरीमा ल्याउनुभयो।
बायर्न म्युनिख लिलसँग २–१ गोलले पराजित भयो। डायोट उपामेकानोको गोलमा बायर्नले सुरुवाती अग्रता लिए पनि दोस्रो हाफमा आयासे उएडाको गोल र अलेक्जेन्डर पाभ्लोभिचको आत्मघाती गोलसँगै लिलले जित हात पार्यो। यससँगै लिलले जारी सिजनको पहिलो जित दर्ता गरेको छ।
अन्य खेलमा इन्टर मिलानले स्टटगार्टलाई २–० गोलले हरायो। इन्टरका लागि पेटर सुचिच र लाउटारो मार्टिनेजले गोल गर्नुभयो। एट्लेटिको मड्रिडले भाइकिङलाई २–० गोलले पराजित गर्दा अलेक्जेन्डर सोर्लोथ र जुलियन अल्भारेजले गोल गर्नुभयो।
त्यस्तै, भेडाट मुरिकीको निर्णायक गोलमा फेनेरबाचेले शाख्तर डोनेत्स्कलाई १–० गोलले हरायो। फेनेरबाचेले २२ वर्षपछि च्याम्पियन्स लिगमा अवे जित दर्ता गरेको छ। अर्को खेलमा भिल्लारियलले ताजोन बुकाननको गोलमा स्लाभिया प्राहालाई १–० गोलले पराजित गर्यो।













प्रतिक्रिया दिनुहोस्