काठमाडौँ, मङ्सिर १२ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भैरहवा हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको भन्दै सरकारले यसलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे पनि उक्त विषयमा प्राविधिक सहमति जुट्न बाँकी रहेको छ।
नेपाल र भारतले भ्रमणपछि जारी गरेको २४ बुँदे संयुक्त वक्तव्यमा विद्यमान एकतर्फी बी३४५ काठमाडौं–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति भएको उल्लेख छ। तर, यसअघि पनि पटक–पटक यस्तै सहमति र प्रतिबद्धता व्यक्त हुँदै आएको थियो।
२०७१ साउनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालासँग भएको वार्तापछि जारी संयुक्त वक्तव्यमा पोखरा, भैरहवा र लखनउका क्षेत्रीय विमानस्थलबीच सिधा उडान सहज हुने गरी सीमापार हवाई मार्ग टुंग्याउने उल्लेख गरिएको थियो। त्यसबेला पनि सम्बन्धित अधिकारीलाई छ महिनाभित्र बैठक बसेर निर्णय गर्न निर्देशन दिइएको थियो। तर, उक्त सहमति कार्यान्वयन हुन सकेन।
त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली र शेरबहादुर देउवाका भारत भ्रमणका क्रममा पनि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषय उठ्दै आएको थियो। २०८० जेठमा प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा पनि हवाई प्रवेश मार्गबारे छलफल भएको र भारतले सकारात्मक संकेत दिएको उल्लेख थियो। तर, प्राविधिक विषयमा सहमति जुट्न सकेन।
भारतले सीमावर्ती क्षेत्रमा भारतीय वायुसेनाका आधार शिविर तथा सैन्य अभ्यास क्षेत्र रहेकाले कम उचाइका हवाई मार्गमा नागरिक उडान सञ्चालन गर्दा सुरक्षा चुनौती हुने बताउँदै आएको नेपाली अधिकारीहरूको भनाइ छ।
प्रधानमन्त्री शाहको भ्रमणअघि नै नेपाली अधिकारीहरूको टोलीले नयाँ दिल्ली पुगेर हवाई मार्गबारे छलफल गरेको थियो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले पनि भारतीय मन्त्रीहरूसँग भेट गरी यस विषयमा सहजीकरणका लागि आग्रह गर्नुभएको थियो। भ्रमणका क्रममा भएको छलफलपछि दुवै देशले बी३४५ हवाई मार्गलाई दुईतर्फी बनाउने सहमति जनाएका हुन्।
सरकारी अधिकारीहरूले आगामी एक महिनाभित्र हवाई मार्गको प्राविधिक पक्ष टुंग्याउने लक्ष्य राखेको बताएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि भैरहवा हवाई मार्गको प्राविधिक अध्ययन लगभग पूरा गरेको जनाएको छ। तर, भारतीय पक्षसँग प्राविधिक छलफलको मिति भने तय भइसकेको छैन।
हवाई मार्ग सञ्चालनका लागि राजनीतिक सहमतिले मात्रै पुग्दैन। त्यसका लागि दुवै देशबीच प्राविधिक सहमति, औपचारिक सम्झौता र आवश्यक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनलगायत सम्बन्धित निकायलाई जानकारी गराउनुका साथै हवाई सूचना पुस्तिका (एआईपी) मा विवरण प्रकाशित गर्नुपर्ने हुन्छ।
हवाई मार्गको प्रवेश बिन्दु, अक्षांश–देशान्तर, मार्गको चौडाइ, उडानको उचाइ, आगमन तथा प्रस्थान मार्ग र दुवै देशका एयर ट्राफिक कन्ट्रोलबीच जिम्मेवारी हस्तान्तरण गर्ने प्रक्रिया पनि टुंग्याउनुपर्नेछ। त्यस्तै, कुन प्रकारका विमान सञ्चालन गर्न पाउने, उडानको गति र उचाइ, आकस्मिक अवस्थाको व्यवस्थापन तथा वैकल्पिक अवतरणस्थलबारे समेत सहमति आवश्यक छ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि हवाई मार्गको उचाइ महत्वपूर्ण विषय बनेको छ। नागरिक उड्डयनसम्बन्धी अधिकारीहरूका अनुसार लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमतर्फबाट आउने विमान अवतरण गराउन १० देखि १५ हजार फिट उचाइको हवाई मार्ग आवश्यक पर्छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीले अत्यधिक उचाइको हवाई मार्गले भैरहवा विमानस्थललाई अपेक्षित लाभ नदिने बताउनुभएको छ। उहाँका अनुसार पश्चिमबाट आउने विमानलाई भैरहवामा अवतरण गर्न १० देखि १५ हजार फिट उचाइको मार्ग उपयुक्त हुन्छ।
यसअघि भारतले महेन्द्रनगरको एल ६२६ हवाई मार्गमा तीन हजार नौ सय फिट उचाइमा मार्ग दिन सहमति जनाएको भए पनि उक्त उचाइ नेपालका लागि उपयोगी नभएकाले सहमति हुन नसकेको नेपाली अधिकारीहरूको भनाइ छ। अहिले भैरहवाका लागि भारतले २० देखि २१ हजार फिट उचाइको हवाई मार्ग दिने आशय व्यक्त गरेको अधिकारीहरूले बताएका छन्।
नयाँ मार्गबाट दैनिक कति उडान सञ्चालन गर्न सकिने, प्रतिघण्टा कति विमान आवतजावत गर्न पाउने, दुईतर्फी उडान कसरी व्यवस्थापन गर्ने र विमानबीच कति समयको अन्तर राख्ने भन्ने विषय पनि टुंग्याउन बाँकी छ।
यी सबै प्राविधिक विषयमा भारतसँग सहमति जुटेपछि मात्रै भैरहवा हवाई मार्ग सञ्चालनको प्रक्रिया अघि बढ्नेछ। त्यसैले अहिले भएको सहमतिलाई हवाई मार्ग सञ्चालनको अन्तिम उपलब्धि मान्न नसकिने र प्राविधिक तथा औपचारिक प्रक्रिया पूरा भएपछि मात्रै यसलाई वास्तविक उपलब्धि मान्न सकिने देखिन्छ।













प्रतिक्रिया दिनुहोस्