काठमाडौं, मंसिर १२ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सरकार र सञ्चारमाध्यमबीचको सम्बन्ध लोकतन्त्र, नागरिक अधिकार, पारदर्शिता र जबाफदेहितामा आधारित हुनुपर्ने बताउनुभएको छ ।
शुक्रबार काभ्रेकाे बनेपामा मदानी बिट मिडिया प्रालिको चौथो वार्षिकोत्सवमा सम्बोधन गर्दै मुख्यमन्त्री मगरले सरकारले गरेका राम्रा कामको प्रशंसा गर्नुका साथै कमजोरी र ढिलासुस्तीप्रति सञ्चारमाध्यमले खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमलाई लोकतन्त्रको महत्त्वपूर्ण आधारस्तम्भ, नागरिकको आवाज र राज्यलाई जबाफदेही बनाउने शक्तिका रूपमा व्याख्या गर्नुभयो । ‘हामीलाई सरकारको प्रशंसा गर्ने सञ्चारमाध्यम मात्र होइन, सरकारलाई प्रश्न गर्न सक्ने स्वतन्त्र सञ्चारमाध्यम चाहिएको छ’, उहाँले भन्नुभयाे ।
प्रदेश सरकारका नीति, कार्यक्रम तथा योजनासँगै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीका विषय जनतासम्म पुर्याउन सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ थियो । सरकारले अघि सारेका नीति तथा कार्यक्रमको प्रभाव जनतामा कस्तो परेको छ भन्ने विषय पनि सञ्चारमाध्यमले उजागर गर्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले सरकार फेरिन सक्ने भए पनि प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मूल्य फेरिन नहुने बताउनुभयाे । ‘सरकार परिवर्तन हुन सक्छ, नेतृत्व परिवर्तन हुन सक्छ, राजनीतिक परिस्थिति परिवर्तन हुन सक्छ तर प्रेस र अभिव्यक्ति स्वतन्त्रताको मूल्य परिवर्तन हुन सक्दैन’, उहाँले भन्नुभयाे ।
स्थानीय सञ्चारमाध्यम कमजोर हुँदै जाँदा स्थानीय नागरिकको आवाजसमेत कमजोर हुने चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री मगरले स्थानीय सरकारको निगरानी, दुर्गम क्षेत्रका समस्या, नागरिकका आवश्यकता र विकासका सम्भावनालाई उजागर गर्न सञ्चारमाध्यम सशक्त हुनुपर्ने बताउनुभयो । सरकारी विज्ञापन वितरणमा देखिएको असमानता अन्त्य गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले सरकारी विज्ञापनलाई सार्वजनिक सूचना नागरिकसम्म पुर्याउने माध्यमका रूपमा विकास गर्नुपर्ने धारणा राख्नुभयो ।













प्रतिक्रिया दिनुहोस्