जनता टाइम्स

१७ माघ २०७६, शुक्रबार १५:४८

बिदेश पलायन हुने होइन, नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्नुपर्छ : भूमिमन्त्री अर्याल


काठमाडौं, माघ १८ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताउनु भएको छ । सहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको अवसरमा आज काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले सो कामका लागि रोजगारमुलक शिक्षा आजको आवश्यकता भएको बताउनु भयो ।

अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उहाँले पढेको कुरा व्यवहारमा लागु गर्न सकिने शिक्षा हुनुपर्ने उहाँको भनाई थियो । दक्ष जनशक्तिबाहिर पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाको खोजी गरिनुपर्नेमा पनि मन्त्री अर्यालले जोड दिनुभयो । ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो । दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल सुखी नेपाली भनेर अर्थ छैन,’ मन्त्री अर्यालले भन्नुभयो, ‘विदेश जाने जनशक्तिको स्वदेशमै उपयोग गर्नुपर्छ । अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन, नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्नुपर्छ ।’

सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको भन्दै मन्त्री अर्यालले प्राविधिक शिक्षा पढेर मुलुकलाई समृद्ध बनाउने अभियानतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो ।