जनता टाइम्स

२० माघ २०७६, सोमबार ०८:०२

भारतले नेपाललाई दिने सहयोग राशिमा ठूलो कटौती


काठमाडौं, , माघ २० ।  भारतीय संघीय अर्थमन्त्री निर्मला सिथारमनले फेब्रुअरी १ मा भारतको संसदमा पेस गरेको संघीय बजेटमा नेपाललाई दिइने सहयोगको राशिमा ठूलो कटौती गरेकी छन् ।

गतवर्ष भारतले नेपाललाई सहयोग स्वरुप १२०० करोड भारतीय रुपैयाँ (नेपाली रु १९२० करोड) दिएकोमा यसवर्ष भारु ४०० करोड ( नेरु ६४० करोड) कम गर्दै सन् २०२०–०२१ आर्थिक वर्षमा केवल भारु ८०० करोड (नेरु १२८० करोड) सहयोग गर्ने बजेट अर्थमन्त्रीले पेस गरेकी छन् । भारतले आर्थिक सहयोग गर्ने प्रमुख देशहरूमध्ये सबैभन्दा धेरै कटौती नेपाललाई दिने सहयोगमा देखिएको छ ।

भारतले सहयोग कटौती गरेका देशमा नेपालबाहेक अफ्रिकी देश, मौरिशस, मालदिभ्स तथा श्रीलंका रहेका छन् ।

तर नेपाललाई दिने सहयोगमा ४०० करोड कम गरेको भारतले अफ्रिकी देशलाई केवल १०० करोड, मौरिशसलाई ७५ करोड, मालदिभ्सलाई २६ करोड र श्रीलंकालाई केवल ५ करोड भारतीय रुपैयाँ कटौति गरेको देखिएको छ । नेपाललाई दिइआएको सहयोगमा करिब ३३ प्रतिशत कटौति भएको छ भने अन्य देशको सहयोगमा ठूलो कटौति भएको छैन । भारतले दिइआएको सहयोगका आधारमा नेपाल पछि अफ्रिकी देशमा धेरै घटेको देखिन्छ, जुन पाइआएको रकमको केवल २२ प्रतिशत कम हो । त्यस्तै मालदिभ्सले ८ प्रतिशत कम र श्रीलंकाले पाएकोमा २.४ प्रतिशत मात्रै कम हो । भारतले सहयोग कटौति गरेको रकम धेरै देखिएता पनि नेपालले दक्षिणी छिमेकीबाट पाएको सहयोग आ.व. सन् २०१८–०१९मा पाए बराबर हो । सन् २०१९–२०२० भारु १०५० करोड सहयोग गरिने अनुमान भएता पनि संशोधित अनुमानको आधारमा भारतले रु। १२०० करोड सहयोग गरेको बजेटमा देखिएको छ ।