जनता टाइम्स

२४ माघ २०७६, शुक्रबार ०७:२३

कोरोना भाइसरको सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टरको मृत्यु


काठमाडौं, माघ २४  ।  चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुनसक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको पनि कोरोनाकै कारण ज्यान गएको छ ।

वुहान केन्द्रीय अस्पतालका आँखा विशेषज्ञ ३४ वर्षीय डाक्टर वेनले गएको डिसेम्बर ३० तारिखमा केही बिरामीमा कोरोना भाइरस देखिएको जानकारी दिँदै यो खतरनाक हुनसक्ने बताएका थिए । तर चीनिया प्रहरीले उहाँलाई भ्रम नफैलाउन चेतावनी दिएको थियो । तर पछि चिकित्सक ली को भनाइ पुष्टि भएपछि चीनमा उनलाई समयमै कोरोनाबारे जानकारी दिएको भन्दै हिरो को रुपमा चर्चा गरिएको थियो । यसैबीच चीनमा कोरोना भाईरसबाट ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको छ ।

गएको २४ घण्टामा थप ७३ जनाको ज्यान गएपछि ज्यान गुमाउनेको सङ्ख्या ६ सय ३६ पुगेको चीनको स्वास्थ्य विभागले पुष्टि गरेको हो । यस्तै चीनमा ३१ हजार १ सय ६१ जनामा कोरोनाको सङ्क्रमण भएको पनि विभागले जनाएको छ ।