जनता टाइम्स

७ फाल्गुन २०७६, बुधबार २०:०७

खोकु–छिन्ताङ–आँखिसल्लाका शहीद परिवारले ४० वर्षपछि पाए राहत


धनकुटा, फागुन ७

चर्चित खोकु–छिन्ताङ–आँखिसल्ला हत्याकाण्डका शहीद परिवारलाई सरकारले ४० वर्षपछि राहत उपलब्ध गराएको छ । २०३६ सालमा हत्या गरिएका १६ व्यक्तिका परिवारलाई प्रति परिवार पाँच लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको हो ।

उनिहरुले राज्यबाटै राहत पाउन ४० वर्ष कुर्नुपरेको हो । प्रदेश नम्बर १ सरकारले छिन्ताङको सहिद पार्कमा एक कार्यक्रमको आयोजना गरी मुख्यमन्त्री शेरधन राईले प्रति परिवार पाँच लाखका दरले राहत वितरण गरेको प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बताउनुभयो ।

तत्कालीन पञ्चायती सरकारले त्यस क्षेत्रका १६ जना सर्वसाधारण नागरिकहरुलाई राजनीतिक आस्थाको आधारमा गोली हानेर निर्मम हत्या गरेको थियो । कम्युनिष्ट पार्टीमा आस्था राखेको आरोपमा खाल्सा क्षेत्रका तीन दिनको सुत्केरी सहित १६ जना सर्वसाधारण नागरिकहरु मध्ये कोहीलाई भीरबाट लडाएर, कोहीलाई गोली हानेर र केहीलाई नदीमा बगाएर हत्या गरेको थियो ।

प्रजातान्त्रिक आन्दोलनको क्रममा २०३६ साल कार्तिक २६ गते शहीदभूमि गाउँपालिका–१ का पुत्रमान थुलुङ राई, कार्तिक २७ गते शहीदभूमि गाउँपालिका–३ का गोपाल आनन्द राई, रणध्वज पुमा राई, लाखमान साधु राई, गम्भीरमान दमाई, टंकबहादुर विश्वकर्मा, धनवीर दर्जी, गंगाबहादुर तुप्रिहाङ राई, चन्द्रबहादुर दर्जी, रामकुमारी राईको हत्या भएको थियो ।

त्यस्तै सोही गाउँपालिका–१ का भैरबबहादुर खालिङ राई, बलबहादुर खत्रीको पनि कार्तिक २७ गते नै हत्या गरिएको थियो । पञ्चायती सरकारले सहिदभुमि गाउँपालिका–६ का केशरमान राई, गणेशबहादुर विश्वकर्मालाई भने कार्तिक २८ गते र शहीदभूमि गाउँपालिका–३ की श्रीमाया राई (हाङखिमा साईली) को कार्तिक २९ गते हत्या गरेको थियो । यता शहीदभूमि गाउँपालिका–६ का झगेन्द्र राईको भने माघ १८ गते हत्या भएको थियो ।