जनता टाइम्स

३० फाल्गुन २०७६, शुक्रबार १०:१०

घरेलु मदिराले लियो धनुषाको एकै गाउँमा पाँच जनाको ज्यान, यस्तो छ कारण


धनुषा, फागुन ३० । धनुषाको एकै गाउँमा घरेलु मदिरा सेवन गर्दा पाँच जनाको ज्यान गएको छ । होली पर्वको अवसरमा अत्यधिक मदिरा सेवन गर्दा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मदिरा पिउँदा क्षिरेश्वरनाथ नगरपालिका २ रमदैयामा ५ जनाएको मृत्यु भएको हो।

मदिरा सेवन गरेका ३ जनाको बुधबार दिउँसो र २ जनाको बिहीबार मृत्यु भएको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा स्थानीय ४० वर्षीय ब्रमहेव यादव, ३५ वर्षीय विभाद मण्डल, ६० वर्षीय गुदरी महरा, रामनारायण महरा र राजु महरा रहेका छन्।

मदिरा पिउँदा सिकिस्त बिरामी परेको सोही ठाउँका इन्द्रजित महरासहित दुईको धरानमा उपचार भइरहेको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। मृतक पाँचै जनाको शव पोष्टमार्मका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ। स्थानीयका अनुसार गाउँकै तारापट्टीबाली भन्ने महिला र रामानन्द साहको मदिरा भट्टीमा उनीहरुले सँगै बसेर मदिरा सेवन गरेका थिए।