काठमाडौं, चैत ४ । बिश्वभर प्रकोपको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको नयाँ अध्यागमन नीति नमान्ने ४६ जनालाई फिर्ता पठाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले परिवर्तन भएको अध्यागमन नियम नमान्ने ४६ जनालाई फिर्ता पठाएको हो ।
नयाँ अध्यागमन कानून नमानेको कारण फिर्ता पठाइएको बिमानस्थल प्रमुख अध्यागमन अधिकृत सागर आचार्यले जानकारी दिनुभयो । कोरोना भाइरस भित्रन नदिनका लागि सरकारले अध्यागमनसँग सम्बन्धित केही नियम परिवर्तन गरेको हो । परिवर्तन भएको नियम पालना नगर्नेमा धेरै गैरआवासीय नेपाली संघ (एनआरएनए)का नेता तथा सदस्य रहेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयले सवै यात्रुलाई सम्बन्धित देशमै फिर्ता पठाएको छ ।
फिर्ता हुनेहरुमा केही एनआरएनएका एनसिसीका पदाधिकारी समेत रहेका छन । सरकारले विदेशी नागरिक, गैरआवासीय नेपाली र काम विशेषले नेपाल प्रवेश गर्न चाहनेका लागि निश्चित मापदण्ड बनाएको छ । कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि सरकारले लागू गरेको नियम नमान्नेलाई विमानस्थलबाटै फिर्ता पठाउनेक्रम जारी छ । सरकारले विदेशी नागरिकलाई स्वाब रिपोर्टसहित सम्बन्धित देशमा रहेको नेपाली कन्सुलर सेवाबाट भिसा लिनुपर्ने व्यवस्था गरेको छ ।
गैरआवासीय नेपालीले पनि सात दिनअघिसम्मको स्वाब रिपोर्टसहित सम्बन्धित देशमा उपलब्ध वा नजिकको नेपाली कन्सुलर सेवाबाटै भिसा लिनुपर्ने व्यवस्था गरेको छ । त्यस्तै विदेशमा गएका नेपाली स्वदेश फिर्ता हुँदा स्वाब रिपोर्ट लिएर आउनुपर्ने व्यवस्था गरिएको छ। सो ब्यवस्थाअनुसार नगरेको पाइएपछि फिर्ता पठाइएको हो । कोरोनाबिरुद्धको सतर्कता अपनाउँदै सरकारले विमानस्थलबाट दिने गरिएको अनअराइभल भिसा पनि बन्द गरेको छ ।
प्रतिक्रिया दिनुहोस्