जनता टाइम्स

८ चैत्र २०७६, शनिबार १०:३२

सामाजिक सञ्जालमा कोरोनाबारे अडियो आतंक फैलाउने व्यक्ति खोज्दै प्रहरी


काठमाडौं, चैत ८

कोरोना भाइरसको संक्रमणबाट बचाउन सरकारसहित सबै सचेत नागरिक लागि रहेका बेला अहिले एउटा अडियो आतंक सिर्जना गर्ने प्रयास भईरहेको छ । विभिन्न सामाजिक सञ्जालमा एक मिनेटको अडियो पठाइएको भेटिएको छ ।

विशाल नामलाई सम्वोधन गरेर पठाइएको अडियोमा सरकारले तथ्यांक लुकाएको, पुल्चोकमा रहेको नर्भिक अस्पतालमा भाइरस फेला परेको लगायतका विषय उल्लेख गरिएको छ । सरकारी तथ्यांक अनुसार अहिलेसम्म नेपालमा कोरोनाको संक्रमित भेटिएको छैन । भेटिएका एक जना पनि धेरै अगाडी निको भएर घर फर्किसकेका छन् ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिनुभयो । ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ’, उहाले भन्नुभयो ।

सरकारले अफवाह फैलाउनेलाई कारवाही गर्ने यसअघि नै निर्णय गरिसकेको छ । कोरोनाबारे अफवाह फैलाउनेलाई मुलुकी अपराध संहिताको व्यवस्था आकर्षित गरेर एक लाख रूपैया जरिवाना र छ महिना कैदलाई कडाइ साथ लागू गर्ने निर्णय गरेको थियो । यसका लागि जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई आवश्यक निर्देशन दिने निर्णय भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनु भयो ।

सोही निर्देशन अनुसार प्रहरीले अहिले त्यो अडियो पठाउनेको खोजी भईरहेको जानकारी दिएको छ । मानिसमा त्रास र भ्रम सिर्जना गर्न सक्रिय त्यस्ता अपराधिक मानसिकता भएकालाई खोजी कानुनी कारवाहीको दायरामा ल्याउने प्रहरीले जानकारी दिएको छ ।