काठमाडौं, चैत २५
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले कोरोनाविरुद्धको कामकारवाही थप प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको छ । सचिवालय बैठकले कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा सरकारले चालेका कदम र लिएका नीति सही रहेको उल्लेख गर्दै अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझाव दिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सचिवालयका सदस्यले प्रस्तुत गरेका सुझावलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिएको र प्राप्त सुझावलाई आवश्यकताका आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएको सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा सम्पन्न बैठकको प्रारम्भमा प्रधानमन्त्री ओलीले कोभिड १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयास र हासिल भएका उपलब्धीबारे विस्तारपूर्वक जानकारी गराउनुभएको थियो । बैठकमा सचिवालय सदस्य, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सङ्क्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएको कामका बारेमा विस्तृत जानकारी गराउनुभएको थियो ।
बैठकपछि जारी प्रेस विज्ञप्ति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचवालयको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न भएको छ ।
पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त अध्यक्षतामा बसेको बैठकको प्रारंभमै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कोभिड– १९ को रोकथाम, नियन्त्रण र उपचारमा सरकार र राज्यका विभिन्न निकायले गरेका प्रयाश र हासिल भएका उपलब्धिहरूको बारेमा विस्तारपूर्वक जानकारी गराउनुभयो । बैठकमा सचिवालय सदस्य, उपप्रधान तथा रक्षामन्त्री एवं उच्चस्तरीय निर्देशन समितिका संयोजक ईश्वर पोखरेलले यस कोरोना भाइरसको संक्रमणको समस्याले उत्पन्न स्थितिको सामना गर्न चालिएका कदम र गरिएका कामहरूको विस्तृत जानकारी गराउनुभयो ।
बैठकमा सचिवालयका सबै सदस्यहरूले कोभिड–१९ नियन्त्रण, रोकथाम र उपचारका सम्बन्धमा आआफ्ना महत्वपूर्ण धारणा राख्दै सरकारले चालेका कदम र लिएका नीति सही नै रहेको र अझ प्रभाकारी रूपमा अघि बढ्न आवश्यक सुझावहरू राख्नुभयो । उहाँहरूले बैठकमा प्रस्तुत गर्नुभएका सुझावहरूलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि बैठकमा जोड दिनुभयो ।
प्राप्त सुझावहरूलाई आवश्यकताको आधारमा कार्यान्वयनमा ध्यान दिनेगरी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आश्वस्त पार्नुभएर बैठक सम्पन्न भयो ।
नारायणकाजी श्रेष्ठ
प्रवक्ता
नेकपा
२५ चैत २०७६
प्रतिक्रिया दिनुहोस्