बुठवल, बैशाख १९ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले रोल्पाको त्रिवेणी गाउँपालिकामा बिहीवारको बिष्फोटमा परी चार जना बालबालिकाको ज्यान गुमाएको घटनाले आफूलाई स्तब्ध बनाएको बताउनु भएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा वनमा बाख्रा चराएर घर फर्कदै गर्दा विहिबार साँझ विष्फोट हुँदा ५ वर्षका विजय खत्री, ११ वर्षकी विमला खत्री, १३ वर्षका गौरव नेपाली र १४ वर्षका नोखीराम डाँगी गरी चार जनाको निधन भएको थियो । मुख्यमन्त्री पोखरेलले आज शोक बक्तब्य जारी गर्दै घटनामा परी निधन हुनेप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुका साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
मख्यमन्त्री पोखरेलले घटनाका बारेमा जानकारी लिन र पीडित परिवारलाई समवेदना दिन प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसी घटनास्थल जानुभएको र विष्फोट भएको स्थलमा तत्काल सेना र प्रहरीको टोली पुगिसकेको जानकारी पनि दिनुभएको छ । उहाँले बिज्ञप्तीमा विष्फोटमा परेका बालबालिकाका परिवारलाई राहत दिन प्रदेश सरकारले संघीय सरकारलाई सिफारिश गर्ने जानकारी दिनुभएको छ ।
‘सशस्त्र द्वन्द्वका कारण बेलाबखत यस्ता दुर्घटना हुने गरेका छन । कुनै शंकास्पद वस्तु देखिएमा नचलाउन र शंकास्पद ठाउँका बारेमा सुरक्षा निकायलाई जानकारी दिन हार्दिक अपील गर्दछु,’ मुख्यमन्त्री पोखरेलले भन्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्