जनता टाइम्स

१ जेष्ठ २०७७, बिहीबार १३:३१

भक्तपुरमा बाहिर जिल्लाबाट आएको भए कोरोना परीक्षण गराउन माइकिङ


भक्तपुर, जेठ १

सुनसरीबाट आएकी महिला र रामेछापबाट आएका पुरुष गरी दुईजनामा कोभिड १९ संक्रमण देखिएपछि भक्तपुरमा आजबाट घरबाट बाहिर निस्कन निषेध गरिएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार जिल्लामा कोरोना संक्रमण फैलिन नदिन लकडाउनलाई कडाइका साथ लागू गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

उहाँले अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन नदिने गरी कडाइ गरिएको बताउनुभयो । यस्तै अत्यावश्यक वस्तुबाहेक व्यापार, व्यवसाय, उद्योग कलकारखाना सञ्चालनमा समेत रोक लगाइएको छ । यसैबीच, लकडाउनको बीचमा कोही व्यक्ति बाहिरी जिल्लाबाट आए तत्कालै कोरोना परीक्षण गराउन माइकिङ थालिएको छ । कोरोनाको संक्रमण फैलन सक्ने खतरा भएकाले तत्कालै तोकिएका अस्पताल गएर कोरोना परीक्षण गराउन मध्यपुरथिमी नगरपालिकाले आज विहानबाट माइकिङ गरिरहेको छ ।

आजैबाट भक्तपुर प्रवेश गर्ने र बाहिर जाने अत्यावश्यक बाहेकका व्यक्ति तथा सवारीसाधन निषेध गरिएको छ भने यसअघि जारी गरिएका सबै सवारी पास समेत खारेज गरिएको छ । यसैबीच संक्रमित व्यक्तिको यात्रा विवरणका आधारमा कन्ट्रयाक्ट ट्रेसिङलाई तीव्र पारिने प्रजिअ पाण्डेले बताउनुभयो ।