काठमाडौं, जेठ १३
संघीय संसदमा मंगलबारबाट लोगो परिवर्तन गरि राखिएको छ । नयाँ नक्सा जारी भएपछि पहिलो पटक संघीय संसदको लोगो परिवर्तन गरिएको हो । सो लोगोमा यसअघि लिम्पियाधुरा नसमेटिएको नेपालको नक्सा राखिएको थियो ।
संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको लोगोमा परिवर्तन गरिएको छ । संघीय संसदको नयाँ लोगो मंगलबारको राष्ट्रिय सभाको बैठकबाट प्रयोगमा ल्याइएको छ ।
संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रिय सभाका कार्यव्यवस्था परामर्श समितिका आइतबारका बैठकले संघीय संसदको लोगो र सांसदहरूले लगाउने लोगोमा अध्यावधिक नक्सा राख्ने निर्णय गरेका थिए ।
भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सा जेठ ७ गते सरकारले जारी गरेको थियो । सरकारले नक्सामा ती भूमि राखेर अद्यावधिक गरेपछि संसदले उक्त नक्सा संसदको प्रयोगमा ल्याउने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार सांसदहरूले लगाउने लोगो, रोस्ट्रममा भएको प्रतीक चिन्हलाई अद्यावधिक नक्साअनुसार परिमार्जन गरिएको हो । सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जारी गरेको नक्साअनुसार निशान छाप परिमार्जन गर्ने संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ ।
प्रतिक्रिया दिनुहोस्