जनता टाइम्स

३० जेष्ठ २०७७, शुक्रबार १२:०९

सीमामा हतियार खोस्न खोज्ने भारतीयमाथी सशस्त्रको फायरिङ


सर्लाही, जेठ ३०

भारतसँग सीमा जोडिएको सर्लाहीको पर्सा गाउँपालिकास्थित नारायणपुरमा सशस्त्र प्रहरीमाथी भारतीय समुहले आक्रमण गरेको छ । भारतीय समूहले शुक्रबार बिहान सीमामा ड्युटीमा खटिएका सशस्त्र प्रहरीमाथि आक्रमण गर्दै हतियार खोस्न खोजेपछि फायरिङ गरेको हो ।

ड्युटीमा खटिएका एक प्रहरीको हतियारसमेत उनीहरुले खोसेर लाने क्रममा सशस्त्र प्रहरीले फायरिङ गरेको छ । सशस्त्र प्रहरीको फायरिङबाट दुई भारतीयलाई घुँडामुनि गोली लागेको छ । एकको अवस्था गम्भीर छ । सशस्त्र प्रहरीको हतियार खोस्ने भारतीयलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । उनलाई पनि गोली लागेको छ ।

शुक्रबार बिहान चार जनाको समूहमा आएका भारतीय व्यापारी सामान लिएर जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले रोकेको थियो । त्यसलगत्तै ती व्यापारीहरु नजिकको भारतीय गाउँमा गएर नेपाली प्रहरीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै सयौंको संख्यामा उनीहरु सीमामा आएका थिए ।

समूहमा आएका भारतीय नागरिकले सीमामा खटिएका प्रहरीसँग रहेको हतियार खोस्न थालेपछि एकछिन झडप समेत भएको थियो । त्यस क्रममा केही प्रहरी समेत घाइते भएका छन् । भीड तितरबितर नभएपछि र प्रहरीमाथि नै जाइलागेपछि प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन गोली प्रहार गरेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो ।