जाजरकोट, असार ८
जुनीचाँदे गाउँपालिका–२ की सिर्जना शाही सुत्केरी भएको हप्ता दिन नबित्दै गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवा आचार्य शाहीको घर दैलोमा पुग्नुभयो । गाउँपालिकाको कार्यालय र गाउँमा औपचारिक कार्यक्रममा मात्र भेटिने कार्यवाहक अध्यक्ष आचार्य घरमै पुगेर सञ्चो, बिसञ्चो सोध्दै परिवारका सबैलाई सँगै राखेर सुरक्षित सुत्केरी तथा नियमित गर्भजाँचका विषयमा चासो, चिन्ता लिँदा दङ्ग भएको शाहीले बताउनुभयो । यसपाला गाउँपालिकाका कार्यवाहक अध्यक्ष आएर सबै परिवारलाई सँगै राखेर नियमित अस्पताल जाने, बच्चाको स्याहारसुसारका विषयमा कुरा गरेको उहाँले सुनाउनुभयो ।
सुत्केरी भएको समयमा पर्ने समस्याका बारेमा श्रीमान् तथा अन्य घर परिवारका सदस्यलाई जानकारी दिएको समेत शाहीले बताउनुभयो । “सबैलाई सम्झाइबुझाइ गरेर कुखुरा किनेर खानु भनी रु एक हजार ५००, स्थानीय तोरीको तेलका लागि रु ५०० र बच्चाको कपडा किन्नका लागि रु ५०० दिनुभयो”, शाहीले भन्नुभयो । आफ्नोजस्तो निम्न अवस्था भएका परिवारका लागि यो सहयोग असाध्यै राम्रो भएको भन्दै शाहीले थप्नुभयो, “मैले छोरीको जन्म दिएकै कारण थप रु १० हजारसमेत पाएकी छु ।”
उहाँजस्तै गाउँपालिकाभित्र सुरक्षितरुपमा स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने दर कम भएपछि गाउँपालिकाले उपाध्यक्षसँग सुत्केरी कार्यक्रम राखेर सुत्केरी खोज्दै कावा अध्यक्ष आचार्य घर–घरमा पुगिरहनुहुन्छ । उहाँ सुत्केरीको घरमा पुगेर विभिन्न शीर्षकमा रहको रु दुई हजार ५०० दिँदै अब अर्को पटक सुत्केरी भएमा स्वास्थ्य संस्थामा आएर सुरक्षित सुत्केरी हुनसमेत आग्रह गरिरहनुभएको छ ।
भौगोलिकरूपमा विकट र सबै ठाउँमा यातायातको पहुँच नभएको जुनीचाँदेमा सुत्केरीसँग उपाध्यक्ष कार्यक्रमले जनतासँग भेटघाट मात्र नभई जनचेतना फैलाउने कामसमेत भएको छ । यो शीर्षकमा मात्र रु १४ लाख ७० हजार रकम विनियोजन गरी सोहीअनुसारको काम भइरहेको छ । सुत्केरी हुने बित्तिकै आचार्यको मोबाइलमा फोन आउने गरेको छ । गाउँपालिकाभरि जम्मा ४०० सुत्केरी महिला भएको आँकलन गरी अहिले सबै वडामा भेटघाटका कार्यक्रम तीव्र बनाइएको छ ।
वडा नं १ मा ७०, २ मा ४७ र ३ मा ३६ सुत्केरीसँग बढी छलफल भएको कावा अध्यक्ष आचार्यले बताउनुभयो । गाउँपालिकाभरि चार ठाउँमा मात्र बर्थिङ सेन्टर रहेका छन् । त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र एक, स्वास्थ्य चौकीको सङ्ख्या चार, उपस्वास्थ्य चौकी एक र सामुदायिक स्वास्थ्य केन्द्र ११ वटा रहेका छन् । महिला स्वयंसेविकालाई प्रोत्सहानस्वरुप गाउँपालिकाले छुट्टै बजेटको व्यवस्था गरी गर्भवती तथा सुत्केरीको घरमा गएर भेटघाट तथा स्वास्थ्य परामर्श दिने व्यवस्थासमेत गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएका गर्भवती तथा सुत्केरीका लागि महिला स्वयंसेविकाले नै घरपरिवारको सहयोगमा स्वास्थ्य संस्था लिने गरेको गाउँपालिका–११ की महिला स्वयंसेविका गौरीकला बस्नेतले जानकारी दिए। प्रत्येक महिनामा एक पटक गाउँमा स्वयंसेविकाको उपस्थितिमा स्वास्थ्य सेचतनामूलक कार्यक्रम हुँदै आएको बस्नेतले जानकारी दिनुभयो । गाउँपालिकाले रु २० लाख विनियोजन गरी छोरी जन्मिएको घरलाई रु १० हजारका दरले उपलब्ध गराउँदै आएको छ ।
‘छोरी बचाऊ, छोरी पढाऊ र छोरी बढाऊ’ भन्ने कार्यक्रम गरी छोरी जन्मिएको घरमा रु १० हजार रकम दिँदै आएको कावा अध्यक्ष आचार्यले बताउनुभयो । छोरीप्रति हेर्ने दृष्टिकोण बदल्नका लागि यो कार्यक्रम लागू गरिएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिनुभयो । यो कार्यक्रम लागू भएसँगै छोरी जन्मिने बित्तिकै हेला गर्ने प्रवृत्ति ह्वात्तै घटेकोसमेत उहाँले बताउनुभयो । राज्यले नै छोरीप्रति सम्मान गर्दा हामीले किन हेपाहा प्रवृत्ति देखाउने भन्दै स्थानीयवासी आफूहरुले गलत दृष्टिकोण राखेको गाउँपालिका–५ का पदम खड्काले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्