जनता टाइम्स

९ असार २०७७, मंगलवार १०:४८

होसियार ! ट्राफिक नियम उल्लंघन गरे लाइसेन्स खारेज


काठमाडौँ, असार ९

नेपालमा सडक नियम पालना गर्ने धेरै कम रहेका छन् । ट्राफिक नभएको ठाउमा कोही त छैन भन्दै नियम उल्लंघन गरेर जाने चलन आम रुपमा पाइने गरेको छ । केही ठाउमा भने यसको पूर्णत पालन भएपनि कारवाहीमा पर्नेको सख्या निक्कै धेरै छ ।

अटेरीपन हटाउन अब लाइसेन्स नै खारेज गर्ने गरी कानुन बनाउने तयारी भईरहेको छ । संसद्को विकास तथा प्रविधि समितिले ट्राफिक नियम तीन पटकभन्दा धेरै उल्लंघन गर्ने चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) रद्द गर्ने व्यवस्था गर्न सरकारलाई सुझाव दिएको छ । सवारी दुर्घटना चालककै लापरबाहीले हुने गरेको पाइएपछि यस्तो व्यवस्था गर्न सुझाव दिइएको उपसमितिका संयोजक गणेश पहाडीले बताउनु भयो ।

सुझावअनुसार कानुन बने यो व्यवस्था सार्वजनिक र निजी दुवै सवारीमा लागू हुनेछ । ट्राफिक प्रहरीले मदिरा सेवन गरेर ५ पटकसम्म कारबाहीमा परेमा लाइसेन्स खारेजका लागि यातायात व्यवस्था कार्यालयमा लेखेर पठाउने गरेको छ । तर, प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । प्रहरीको तथ्यांकअनुसार दुर्घटनाको मुख्य कारण चालकको लापरबाही देखिएको छ । प्रहरीका अनुसार चालकको लापरबाहीले ४३.७ प्रतिशत, तीव्र गतिले १८.७, ओभरटेक गर्दा ९.८, पैदल यात्रुको लापरबाहीले ९.५, मादक पदार्थ सेवन गरी चलाउँदा ६.२, सवारीको यान्त्रिक गडबडीले ६.१, ओभरलोडले ५.२, सडक चौपायाका कारण ०.४ प्रतिशत दुर्घटना हुने गरेका छन् ।

त्यस्तै, लामो दूरीको सवारीसाधनका हकमा लाइसेन्स लिनेबित्तिकै चलाउन नपाउने व्यवस्था गर्न उपसमितिले सुझाव दिएको छ । लामो दूरीको सार्वजनिक यात्राका लागि कम्तीमा ५ वर्षको अनुभव भएको चालकसहित जगेडा चालकको व्यवस्था गर्ने प्रावधान राख्नुपर्ने उसमितिले सुझाएको छ । सार्वजनिक तथा ठूला सवारीसाधनका सहचालकलाई समेत यान्त्रिक ज्ञानको सामान्य तालिम दिने व्यवस्था मिलाउन सरकारलाई भनिएको छ ।
सवारी दुर्घटना न्यूनीकरण गर्न साढे तीन हजार किलोमिटर गुडेपछि मान्यता प्राप्त वर्कसपबाट सवारीसाधनको परीक्षण र मर्मत गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।