काठमाडौं, असार २३
अमेरिकामा अध्ययन गरिरहेका विदेशी विद्यार्थीहरूको कक्षा पूर्ण रूपमा अनलाइन हुने भए उनीहरूको भिसा अगामी सेप्टेम्बरदेखि रद्द गरिने बताइएको छ ।
अमेरिकी अध्यागमन एवम् भन्सार एजेन्सी आईसीईले यो नियम नमान्ने व्यक्तिहरूलाई देशनिकाला पनि गर्न सकिने बताएको छ । कोरोनाभाइरस महामारीका कारण थुप्रै अमेरिकी विश्वविद्यालयले कक्षाहरू अनलाइन सञ्चालन गर्न थालेका छन् ।
यो नियमबाट कति विद्यार्थीलाई असर पर्छ भन्ने स्पष्ट छैन । अमेरिकामा सन् २०१९ मा १३,००० भन्दा बढी नेपाली विद्यार्थी रहेको र त्यहाँ रहेका कुल विदेशी विद्यार्थीहरूको सङ्ख्याको आधारमा नेपाल बाह्रौँ स्थानमा छ ।
प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी विद्यार्थीहरू अध्ययनका लागि अमेरिका जाने र पूरा शुल्क तिर्ने हुँदा ती विश्वविद्यालयको महत्त्वपूर्ण आर्थिक स्रोत हुन् । हार्भर्डले नयाँ शैक्षिक सत्रमा सबै कक्षाहरू अनलाइन गर्ने बताएको छ ।
आईसीईको स्ट्यूडन्ट एन्ड एक्स्चेन्ज भिजिटर प्रोग्र्यामले यो वर्ष सेप्टेम्बरसम्म सबै कक्षा अनलाइन भए पनि विदेशी विद्यार्थीहरूलाई आवासीय अनुमति कायम राखेको छ । सोमवारको घोषणामा भने सेप्टेम्बरदेखि अनलाइन कक्षामात्रै लिने विद्यार्थीहरूलाई अध्यागमन नियमानुसार देशबाट हटाइने प्रक्रिया सहितको कारबाही गरिने बताइएको छ ।
यो नियम एफवन भनिने अध्ययन भिसा र एमवन भनिने व्यावसायिक तालिमका विद्यार्थी भिसा भएकाहरूलाई लागु हुनेछ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार सन् २०१८ मा विदेशी विद्यार्थीहरूले अमेरिकी अर्थतन्त्रमा ४५ अर्ब डलर योगदान गरेका थिए । आईसीईको उक्त निर्णयको धेरैतिरबाट आलोचना भएको छ । (बिबिसी)
प्रतिक्रिया दिनुहोस्