लहान, साउन ०५ गते । सिरहाका सिडियोलाई जिल्लाका नागरिक समाजले अनुरोध पत्र बुझाएका छन् । केही दिन अगाडीमा मात्र प्रमुख जिल्ला अधिकारी भएर सिरहा आएका प्रदिपराज कणेललाई नागरिक अगुवाहरुको तर्फबाट सिरहाका नरहा गाउँपालिका वडा नं. ५ निवासी मानव अधिकारकर्मी दीप कुमार यादव सहितका नागरिक समाजले १६ बुँदे अनुरोध पत्र बुझाएका हुन् ।
जिल्लामा विद्यमान सार्वजनिक सरोकार एवं चासोका विषयहरु उल्लेख गर्दै सो अनुरोध पत्र बुझाइएको अधिकारकर्मी दीप कुमार यादवले बताउनुभयो । जिल्लाको कृषि, स्वास्थ्य, सार्वजनिक सेवा प्रवाह, प्रहरीको कार्यशैली, शान्ति सुरक्षाको अवस्था, एम्बुलेन्सको दुरुपयोग जस्ता विषयहरुमा प्रमुख जिल्ला अधिकारी कणेललाई नागरिक समाजले ध्यानाकर्षण गराएका हुन् । बुझाइएको अनुरोध पत्रमा कोरोना भाइरसको महामारीको क्रममा सरकारले गरेको लकडाउन विपरित जिल्लाको लहान नगरपालिका लगायतका स्थानमा शिक्षकहरुले विद्यार्थीहरुलाई एकै ठाउँमा जम्मा पारेर कक्षा चलाइरहेको समेत उल्लेख गरेका छन् ।
लुकुछुपी कक्षा चलाइरहेकाहरु दर्ता समेत नभएको र यस्ता कार्यले कोरोना संक्रमण जिल्लामा बढ्न सक्ने भन्दै त्यस्ता कार्यलाई तत्काल नियन्त्रण गर्न नागरिक समाजले भनेका छन् । शिक्षक, कानून व्यवसायी, सचारकर्मी लगायतका युवाहरु सम्मिलित नागरिक समाजको सो समुहले बुझाएको अनुरोध पत्र बुझ्दै करिब १० दिन अगाडि मात्रै कारागार विभागबाट सरुवा भएर सिरहा जिल्ला आउनुभएका प्रमुख जिल्ला अधिकारी कणेलले कानून कार्यान्वयनमा आफू सक्रिय हुने बताउनुभएको छ । वहाँले कार्यालयमा हाजिर भए लगत्तै केही गम्भीर विषयहरुमा काम शुरु गरिसकिएको बताउनुहुँदै सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउँदै कानून विपरितका अवैध गतिविधीलाई क्रमिक रुपमा नियन्त्रण गरिने स्पष्ट पार्नुभयो ।
सिरहाको सुशासन र विकासको गतिविधिबारे जानकार रहेकोले सुशासन कायम गराउन र विकासको गतिविधीमा दिगोपना ल्याउने गरी काम गर्न नै आफू सिरहा आएको बताउनुभयो । सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेल सिरहाको छिमेकी जिल्ला धनुषामा प्रमुख जिल्ला अधिकारी भएर काम गर्दा सार्वजनिक सेवा प्रवाहलाई सेवाग्राही मैत्री बनाउन सक्रिय भूमिका खेल्नुभएको धनुषाबासीले बताउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्