जनता टाइम्स

१७ श्रावण २०७७, शनिबार १५:५३

‘भ्रष्टाचार विरोधी’ उपसचिव प्रेम सञ्जलेमाथि कार्यकक्षमै महिला कर्मचारीबाट कुटपिट


विराटनगर,साउन १७ । भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका उप–सचिव प्रेमप्रसाद सञ्जेलमाथि कुटपिट भएको छ। श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि आफ्नै कार्यकक्षमा आज ११ बजेतिर महिला कर्मचारीले कार्यकक्षभित्रै कुटपिट गरेका हुन्।

सञ्जेललाई कार्यालयका सहयोगी कर्मचारी नेत्रकुमारी भट्टराई निरौला र मेनुका सापकोटा कोइरालाले कुटपिट गरेको प्रहरीले जनाएको छ। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि सञ्जेलमाथि आक्रमण भएको हो । दुवै जना मिलेर टेबुलमाथि राखेको पेपर वेटको डल्लो, आफूले लगाएको चप्पल, नेल कटर, पञ्चिङ मेसिन लगायतले प्रहार गरेको प्रहरीको भनाइ छ। दुवै जना कार्यालयका करारका कर्मचारी हुन्। एपसी खड्काले कुटपिटमा संलग्नलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जनाएको छ ।

कुटपिटबाट सञ्जेलको निधार लगायत अनुहारका विभिन्न भागमा चोट लागेको र ओठ फुटेको प्रहरीले जनाएको छ। श्रम कार्यालयका एक कर्मचारीका अनुसार काम नगरेको भन्दै सञ्जेलले करारका नायव सुब्बा निर्मलकुमार दाहाललाई शुक्रबार कामबाट निकाल्नुभएको थियो । दाहाल कुटपिटमा संलग्नमध्ये निरौलाको बहिनी ज्वाईँ हुन्। केही दिनअघि कार्यालयको पानी तान्ने मोटर पनि चोरी भएको थियो। मोटर चोरी भएपछि र कार्यालयका सामानको सुरक्षा नभएको भन्दै सञ्जेलले चार जना करारका कार्यालय सहायक मध्ये दुई/दुई जना गरेर पालो हिसाबले २४ घण्टानै ड्युटीमा खटाउनु भएको थियो।

महिला कर्मचारीलाई २४ घण्टानै ड्युटीमा लगाएको भन्दै कार्यालय सहायक सञ्जेलसँग आक्रोशित बनेको कर्मचारीको भनाई छ । प्रहरीले अनआवश्यक ड्युटीमा लगाउँदै काममा पेलेर धेरै दुःख दिने गरेको र आफन्तलाई कामबाट निकालिदिएको रिसमा कुटपिट गरेको खुलेको बताएको छ। पटक–पटक सञ्जेलले गालीगलौज गर्ने र अनाआवश्यक ड्युटीमा लगाउँदै एकलौटी पेल्ने काम गरेकाले पनि कुटपिट गरेको उनीहरुले प्रहरीलाई बताएका छन्।