काठमाडौँ, साउन ३२ । कोरोना कहरबीच बाणिज्य बैंक र विकास बैंकलाई पछि पार्दै राष्ट्रिय सहकारी बैंक लिमिटेडले लोभलाग्दो प्रगति गरेको छ । सहकारी क्षेत्रको एक मात्र बैंकको रुपमा स्थापित भएको राष्ट्रिय सहकारी बैंक लिमिटेडले विश्वमै महामारीको रुपमा फैलिएको कोरोनाका वीच समेत मुनाफामा उल्लेखीय प्रगति हासिल गरेको हो ।
बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ नाफा कमाएको थियो । उक्त नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.६९ प्रतिशतले बढी हो । बैंकले प्रकाशित गरेको लेखा परीक्षण नभएको वित्तीय विवरण अनुसार शेयरपूंजी २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रहेको बैंकको जगेडा कोषमा १ अर्ब ४ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ, बैंकको खराब कर्जा १.३४ प्रतिशतबाट घटेर ०.७० प्रतिशतमा रहेको छ ।
बैंकको नाफासँगै खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा पनि सुधार आएको छ । गत आवमा १ अर्ब १० करोड ७६ लाख ७६ हजार पुगेको खुद व्याज आम्दानी अघिल्लो आवको सोही अवधिमा ९२ करोड २२ लाख ६१ हजार रहेको थियो ।
बाणिज्य बैंक र विकास बैंक भन्दा अगाडि
हालसम्म गत आ.व. को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका गरेका बाणिज्य बैंक र विकास बैंकहरु मध्ये राष्ट्रिय सहकारी बैंकको नाफा बाणिज्य बैंकमा सिभिल बैंकको भन्दा बढी छ भने विकास बैंकहरु कसैको नाफा राष्ट्रिय सहकारी बैंकको भन्दा बढी छैन ।
७७ जिल्लाका सबै खाले सहकारी संघ/संस्थाहरु सदस्य बन्न सकिने बैंकमा हाल १२ हजार सहकारी संघ/संस्था सदस्य रहेका छन भने बैंकले ४६ अर्व ८८ करोड बचत संकलन गर्दै २६ अर्व ६९ करोड कर्जा लगानी गरेको छ । बैंकमा चार्टड अकाउन्टेड बद्रीकुमार गुरागाईं प्रमुख कार्यकारी अधिकृत रहनुभएका छन भने बैंकका अध्यक्ष वरिष्ठ सहकरिकर्मी के.वी उप्रेती हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्