जनता टाइम्स

८ भाद्र २०७७, सोमबार १६:०९

चर्को मूल्यवृद्धिको गुनासोपछि एकाबिहानै तरकारी बजार पुगे आपूर्तिमन्त्री मन्त्री भट्ट, फेला पर्यो यस्तो तथ्य


काठमाडौं, भदौं ८ । निषेधाज्ञासँगै काठमाडौं उपत्यकाका तरकारी बजारमा अत्याधिक भिडभाड र चर्को मूल्यवृद्धि भएको गुनासो बढेपछि आपूर्ति मन्त्री आफै बजार अनुगमनमा निस्कनुभएको छ । नागरिकको गुनासो बढेपछि अनुमगनका लागि उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैले सक्रियता देखाउनु भएको हो ।

मन्त्री भट्टको नेतृत्वमा सोमबार बिहानै कालीमाटी र बल्खु बजारको अनुगमन भएको छ । मंगलवारबाट सरकारले किन्न जाने उपभोक्ताबाटै ठगी गर्नेहरुको अनुगमन गर्ने योजनासमेत अघि बढाइएको छ । बजार भाऊ अत्याधिक बढेको गुनासो आएपछि सोमबार बिहान ४ चार बजे उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट मन्त्री क्वार्टरबाट काठमाडौंका बिभिन्न तरकारी बजार अनुगमनमा निस्कनु भएको थियो ।

स्वकीय सचिव हितेष ओझाका अनुसार मन्त्री भट्टले आज कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु बजारको अनुगमन गर्नुभएको छ । व्यस्त तरकारी बजारमा हुने भीडभाड, उपभोक्ता र व्यवसायीले अपनाएको सुरक्षाका मापदण्डलगायतका स्थितिबारे मन्त्री भट्टले अनुगमन गर्नुका साथै सामाजिक दुरीसहित स्वास्थ्य प्रोटोकल अपनाउन निर्देशन दिनुभएको उहाँका स्वकीय सचिव ओझाले जानकारी दिनुभयो ।

अत्यावश्यक वस्तुको कारोबार हुने स्थल कालीमाटी फलफूल तथा तरकारी बजार र बल्खु तरकारी बजारमा कोरोनाबाट जोगिनका लागि आवश्यक सुरक्षा मापण्ड नअपनाएको, भिडभाड बढेको र मूल्यवृद्धिको गुनासो आएपछि मन्त्री भट्ट आफैं अनुगमनमा निस्कनुभएको हो । ओझाका अनुसार बल्खु तरकारी बजारमा आज पनि निकै भिडभाड देखिएको थियो । बजारमा न्यूनत्तम मापदण्ड कार्यान्वयन नभएको पनि अनुगमनमा भेटिएको थियो । अनुगमनका क्रममा मन्त्री भट्टले विभिन्न तरकारी पछिल्लो मूल्य अवस्थाबारे जानकारी लिनुभएको थियो । मन्त्री भट्टले व्यवसायीलाई आपूर्ति व्यवस्था र कोरोना भाइरसबाट जोगिनका लागि आवश्यक सुरक्षा मापदण्ड पालना गर्न पनि सचेत गराउनु भयो ।
अनुगमनको क्रममा मौसमी तरकारीको मूल्य बढेको पाइएको छ ।

त्यसक्रममा मन्त्री भट्टले बजार ठगी गर्ने कुनै क्रियाकलाप गरिएमा कारबाही गर्ने चेतावनीसमेत दिनुभयो । त्यसबाहेक व्यवसायी एवं उपभोक्ताले स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाए कारबाही गर्न उहाँले नजिकका प्रहरीलाई निर्देशन दिनुभएको थियो । मन्त्री भट्टले मूल्य बृद्धि नियन्त्रणका लागि मंगलबारदेखि स्वयं उपभोक्तालाई खुल्ला बजारमा किनमेलमा पठाएर अनुगमनको नयाँ शैली अपनाउने गृहकार्य अघि बढाउनु भएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाका संक्रमित बढेसँगै उपत्यकाका तीन ओटै जिल्ला प्रशासनले भदौ १० गतेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका छन । निषेधाज्ञा सुरु भएपछि बजारमा मुल्य बढेको र तरकारीमा समेत कालोबजारी भएको गुनासो आएपछि एकाबिहानै मन्त्री तरकारी बजारको अनुगमनमा निस्कनु भएको हो ।