जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार ०९:०७

होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने– प्रहरी


काठमाडौं,  भदौ १२ । कोरोनाको जोखिम बढ्दै गएकाले अत्यावश्यकबाहेक सेवा सञ्चालन नगर्न प्रहरीले आग्रह गरेको छ।

खाद्यान्न तथा पकाइएको खाद्य वस्तु घर–घरमा पुर्याउने डेलिभरी सेवा बढेको भन्दै प्रहरीले अत्यावश्यकबाहेकका सेवा सञ्चालन नगर्न आग्रह गरेको हो।

तर अत्यावश्यक वस्तु अन्तर्गतका खाद्य, दूध, दूग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा, मासु आदिका बिक्री भने बिहान सवा ९ बजेसम्म मात्र गर्न पाइने छ ।

यस बाहेकका होटल, रेष्टुँरा सबैको सेवा बन्द भएकाले होम डेलिभरी र अर्डरका खानेकुरा पनि ओसारपसार गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ ।

बाहिरको खाजा खानाले सङ्क्रमणको जोखिम थप बढ्न सक्ने भएकाले प्रशासनले घरभित्रकै खाना खान पनि आग्रह गरेको छ ।

हिजो होम डेलिभरी गर्ने विभिन्न संस्थाका ८० जनालाई प्रहरीले पक्राउ गरी कागज गराएर बेलुका छोडेको छ ।

महानगरीय प्रहरी परिसर काठमाण्डौका एसएसपी श्याम ज्ञवालीले बिहान सवा ९ बजेपछि होम डेलिभरी गर्नेलाई पनि रोक्ने यसअघिकै आदेश भएकाले उनीहरुलाई रोकेको र अब पनि नियमको अटेर गरे रोक्ने बताउनुभयो । कोरोनाको सङ्क्रमण समुदायस्तरमा नै फैलिसकेकाले सामान्य कुरामा ध्यान दिए सङ्क्रमणबाट जोगिन सकिने भन्दै प्रहरीले जिल्ला प्रशासन कार्यालयले तोकेको मापदण्ड र नियमको पालना गर्न गराउन आग्रह गरेको छ ।

निषेधाज्ञाको उल्लंघन गर्दै अनलाइनमार्फत पनि खाजा खाना पुर्याए कारबाही हुने महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले सार्वजनिक गरेको निषेधाज्ञाको आदेशअनुसार पानी, औषधि र स्वास्थ्य सामग्री बिक्री गर्ने पसल जुनसुकै बेला पनि खोल्न पाइनेछ ।