जनता टाइम्स

१३ भाद्र २०७७, शनिबार १९:०९

सहकारी बैंकको कर्जा अब सिंगल डिजिटमा, यस्तो छ नयाँ ब्यवस्था


ललितपुर, भदौ १३ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले सदस्य सहकारी संस्थाहरुलाई प्रदान गर्ने कर्जाको ब्याज १० प्रतिशत भन्दा कम भएको छ । बैंकले भदौ १० गतेदेखि लागु हुनेगरी परिवर्तन गरेको कर्जाको ब्याजदर सिंगल डिजिटको बनाएको हो ।

न्यूनतम साढे ६ प्रतिशतदेखि बढीमा साढे दश प्रतिशतसम्मको ब्याजदर कायम भएको बैंकद्वारा जारी सूचनामा उल्लेख छ । बैंकका अधिकांश कर्जाको ब्याज सिंगल डिजिडको बनाइएको अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो । कृषि तथा कृषि परियोजना कर्जामा साढे ६ प्रतिशतदेखि ९ दशमलव २५ सम्म तथा परियोजना कर्जामा ६ दशमलव ७५ देखि ९ दशमलव ९९ सम्म कायम भएको बैंकले जनाएको छ ।

बैंकले सदस्य सहकारी संघ संस्थाहरुलाई प्रदान गर्ने कर्जामा सबै भन्दा बढी दीगो सहकारी कर्जा र चालु पूँजि कर्जामा साढे १० प्रतिशत कायम गरिएको छ । बैंकले आवधिक कर्जामा ८ देखि १० दशमलव २५, हायर पर्चेज कर्जामा ९ दशमलवव ९९ तथा लघु कर्जामा ९ देखि १० दशमलव २५ प्रतिशत ब्याज कायम गरेको छ ।

बैंकले सदस्यहरुमार्फत लिने निक्षेपमा साढे २ प्रतिशतदेखि ७ प्रतिशतसम्म कामय गरिएको प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो । बैंकले कोरोनाका कारण सरकारले जारी लकडाउन अन्तरगत चैत देखि जेठ सम्मको ब्याजमा १० प्रतिशत छुट दिएको थियो । असार गतेदेखि कर्जा २ प्रतिशत ब्याज कम गरेको बैंकले यस पटक थप ब्याज परिवर्तन गरेको हो ।