जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १३:०९

धरानमा कोरोना संक्रमित आमाछोराको एकैदिन मृत्यु


धरान, भदौ १४

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सुनसरी धरान–१७ का दुईजना संक्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिकाका ७४ वर्षीया महिला र ६० वर्षीया पुरुषको आइतबार मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । धरान उपमहानगरपालिका १७ का वडा अध्यक्ष सुर्यबहादुर भट्टराईका अनुसार मृतक आमा छोरा हुन् ।

साता अगाडिबाट अत्याधिक खोकी, श्वास फेर्न समस्या र ज्वरोले ग्रस्त महिलालाई भदौ १३ गते (शनिबार) साँझ अस्पताल भर्ना गरिएको थियो । स्वाब संकलन गरि पीसीआर परीक्षण गर्दा आइतबार पोजेटिभ देखिएको थियो । यसैगरी दशदिन अगाडिदेखि स्वास्थ्यमा समस्या देखिएपछि शनिबार साँझ नै भर्ना गरिएका पुरुषमा समेत आइतबार नै कोरोना संक्रमण पोजेटिभ देखिएको थियो । पुरुषलाई समेत परिवारले शनिबार नै वीपीमै भर्ना गरेका हुन् ।

प्रवक्ता सापकोटाका अनुसार पुरुषमा विगत दुई महिनादेखि कलेजोमा समस्या देखिएको थियो । उहाँको आइतबार बिहान ७ः ४५ बजे मृत्यु भएको हो ।