जनता टाइम्स

१६ भाद्र २०७७, मंगलवार ०८:३१

रोकिएन तामाकोशीको दोहन


दोलखा, भदौ १६ । दोलखाको विभिन्न स्थानबाट तीन दिनमा तामाकोशी नदिमा गैरकानुनी बालुवा उत्खनन गर्ने सात सवारी साधनसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । दोलखाको विगु गाउँपालिका–४, लादुकको ओलीटारस्थित तामाकोशी नदी किनाराबाट सोमबार साँझ ७ बजे गैरकानुनी रुपमा बालुवा उत्खनन् गरेका ४ ट्याक्टरसहित ४ चालकलाई इलाका प्रहरी कार्यालय सिंगटीले पक्राउ गरेको हो ।

प्रहरीले यस अघि शुक्रबार राती ११ बजे भीमेश्वर नगरपालिका–५, स्थित तामाकोसी नदीमै बालुवा झिक्दै गरेको अवस्थामा एक एस्जाभेटर, दुई टिपरसहित पक्राउ २ जना पक्राउ गरेको थियो । गौरीशंकर संरक्षण क्षेत्रको क्षेत्राधिकार भित्रपर्ने लादुकको ओलीटारस्थित तामाकोशी नदिबाट लोड गरिएको ट्याक्टरसहित गौरीशंकर गाउँपालिका–८, खारेका २० वर्षीय नविन श्रेष्ठ, विगु गाउँपालिका–४, लादुकका २१ वर्षीय सदिल श्रेष्ठ, गौरीशंकर गाउँपालिका–१, जुँगुका २० वर्षीय छत्रबहादुर जिरेल र गुप्तेश्वर गाउँपालिका–७, रामेछापका २२ वर्षीय जीवन कार्की रहेका छन ।

चालकसहित प्रहरीले लु ३ त ५१८६, लु ६ त २९५०, लु ३ त ९२६१ र लु ३ त ९७०३ नम्बरको ट्याक्टर पक्राउ गरेर गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय सिंगटीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताउनु भयो । शुक्रबार राती टिपर चालक वैत्यश्वर गाउँपालिका–६, नाम्दुका रामजी घिमिरे र भीमेश्वर नगरपालिका–५ मथानीका मिलन बस्नेत प्रकाउ परेको प्रहरीले जनाएको छ ।

नदिजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिले यसअघि भीमेश्वर नगरपालिका–५, बाट राती बालुवा झिक्दै गरेको अवस्थामा पक्राउ परेको एक्जाभेटरलाई तीन लाख र सोही समयमा बरामद भएको बा ५ ख ४३४६, बा ५ ख ६६८६ नम्बरको दुईओटा टिपरलाई जनही तीस हजारको दरले जरिवानासमेत गरिसकेको समितिका संयोजक डबल पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय शक्ति र राजनीतिक दलको आडमा तामाकोशीको दोहन बढदै गएको छ ।