सम्बन्धित यात्रुहरुलाई पैसा फिर्ता दिन फिर्ता दिन र अव उप्रान्त यस्तो कार्य नगर्न/नगराउन एअर अरेबियालाई सचेत गराउने, नेपाल वायुसेवा निगमले तय गरेको भाडादर बढी भाडा लिन रोक
काठमाडौं, भदौ १७ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नेपाल वायुसेवा निगम र हिमालय एयरलाईन्सको उडान भएको सेक्टरहरुमा निगमले तय गरेको भाडादरअनुसार नै उडान गर्ने गरी मात्रै विदेशी एयरलाइन्सलाई उडान अनुमति दिन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ ।
पर्यटन मन्त्रालयका प्रवक्ता एवं सहसचिव कमल प्रसाद भट्टराईले दिनुभएको जानकारीअनुसार पर्यटनमन्त्री योगेश भट्टराईको निर्णयअनुसार मन्त्रालयले प्राधिकरणलाई यस्तो निर्देशन दिएको हो । पर्यटन मन्त्रालयमा नियमित उडानहरुको भाडा दर र चार्टर्ड उडानमा आएको गुनासो सम्बन्धमा आज बसेको बैठकमा मन्त्री भट्टराईले उक्त निर्देशन दिनुभएको हो । अहिले विभिन्न एयरलाइन्सले नियमित उडानको भाडा चार्टर्डको भन्दा चार गुणा मँहगो गरेर टिकट बिक्रि गरिरहेका छन् । नियमितको भन्दा उच्च भाडादार कायम भएपछि विदेशबाट फर्किने नेपालीहरु ठुलो समस्यामा परेका छन् । यही अवस्थालाई मध्यनजर गरी पर्यटनमन्त्री भट्टराईले एक्शन लिनुभएको हो ।
उहाँले टिकटमा ट्राभल्स एजेन्सीबाट अनियन्त्रित रुपमा कालोबजारी भएको गुनासो आएमा एयरलाइन्सबाटै नियन्त्रण हुनुपर्ने बताउँदै अनुगमन तथा सहजीकरणका लागि विदेशी कुटनीतिक नियोग, गैर आवासिय नेपाली संघसँग (एनआरएन)सँग समेत गर्नुपर्ने धारणा राख्दै आउनु भएको छ । बैठकले हवाई भाडादरमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानुनी मुनाफा कायम गरी भाडादर असुल नगर्न÷नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई सचेत गराउने निर्णय पनि गरेको छ ।
नियमित उडानमा बजेट एयरले अन्य एयरलाइन्सको भन्दा कम भाडादरमा उडान गर्नुपर्ने, चार्टर उडानको सम्न्धमा पर्यटन मन्त्रालयले यसअघि तोकेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान सञ्चालन गर्न अनुमति दिने निर्णय समेत भएको छ । बैठकको निर्णयअनुसार २५ अगष्टमा १६१ जना यात्रु लिएर काठमाडौं आएको एयर अरेवियाले पीसीआर नेगेटिभ भएका सबै यात्रुको होटेल क्वारेन्टिन वापतको रकम तिर्नुपर्ने भएको छ ।
पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले होटेल क्वारेन्टिनमा बसेका सबै यात्रुको रकम एयरलाइन्सले तिर्नुपर्ने भन्दै यात्रुबाट उठाइएको भए फिर्ता गराउन सरोकारवाला निकायलाई निर्देशन दिनुभएको हो । सरकारले एउटै उडानबाट पीसीआर रिर्पोट नेगेटिभ भएका र रिर्पोट नभएका यात्रु नल्याउन निर्देशन दिएको थियो । तर, निर्देशन आइसकेपछि काठमाडौं आएको एयर अरेवियाले भने एयर अरेवियाले १४२ जना पीसीआर गरेको, १८ जना आरडिटी गरेको र एकजना केही पनि नगरेको यात्रु ल्याएर सवैलाई होटल क्वारेन्टाईनमा राखेको छ ।
सरकारको निर्देशन आउनु अगाडि नै टिकट काटेका कारण सबै यात्रुलाई ल्याउनु परेको एयरलाइन्सले बताएको छ । मन्त्री भट्टराईले रकम फिर्ता नगरे कारवाही गर्न निर्देशन दिनुभएको छ ।
यस्तो छ निर्णय
आज मिति २०७७।५।१७ गतेका दिन नियमित अन्तर्राष्ट्रिय उडानहरुको हवाई भाडादर र एअर अरेबियाको २५ अगष्ट २०२० एफ को चार्टर उडानका विषयमा यात्रुहरुबाट पर्न गएको उजुरीका सम्बन्धमा माननीय मन्त्रीज्यूको अध्यक्षतामा यस सम्वन्धी विभिन्न सरोकारवालाहरुवीच वसेको बैठकबाट देहाय बमोजिम निर्णयहरु गरियो ।
देहाय
१. अन्तर्राष्ट्रिय उडानको भाडादर सम्बन्धमा हिमालय एयरलाईन्स र नेपाल वायुसेवा निगमको उडान भएका सेक्टरहरुमा तततत वायुसेवाहरुले तय गरेको भाडादर अनुसार उडान गराउन अन्य विदेशी एयरलाईन्सहरुलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिने ।
२. बजेट एयरलाईन्सको हकमा बुँदा नं. १ अनुसार कायम हुन आएको भाडादर भन्दा कम हुने गरी उडान संचालन गर्न निर्देशन दिने ।
३. चार्टर उडानको भाडादरको हकमा साविकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीकृत गरेको भाडादर भन्दा बढी नहुने सुनिश्चित गरी उडान संचालन गर्न अनुमति दिने ।
४. हवाई भाडादर असुल उपर सम्बन्धमा कालोबजारी, अपारदर्शिता र अन्य गैरकानूनी मुनाफा कायम गरी भाडादर असुल उपर नगर्न नगराउन सम्बन्धित वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने ।
५. यी निर्णयहरुको कार्यान्वयन, सहजिकरण र अनुगमन गरी दिनका लागि विदेश स्थित नेपाली कुटनीतिक नियोगहरु र सम्बन्धित गैर आवासीय नेपाली संघलाई अनुरोध गर्ने ।
६. २५ अगष्ट २०२० मा भएको एअर अरेबियाको उडानबाट पिसिआर टेष्ट गराई आएका १४२ जनाको होटल क्वारेन्टाईन वापतको रकम सम्बन्धित यात्रुहरुलाई फिर्ता दिन र अव उप्रान्त यस्तो कार्य नगर्न नगराउन एअर अरेबियालाई सचेत गराउने ।
मिति २०७७।०५।१७
कमल प्रसाद भट्टराई
प्रवक्ता एवं सह सचिव
प्रतिक्रिया दिनुहोस्