जनता टाइम्स

१ जेष्ठ २०८२, बिहीबार २१:२३

एमालेले बुझायाे कोशी प्रदेश सरकारको नीति, कार्यक्रम र बजेटमा समेट्नु पर्ने विषयमा सुझाव 


काठमाडौं, १ जेठ । कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गर्ने आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम र बजेटका सम्बन्धमा  नेकपा एमाले कोशी प्रदेश कमिटीले सुझाव पेस गरेको छ ।

बिहीबार मुख्यमन्त्री हिक्मत कार्कीलाई पार्टीको छैटौँ पूर्ण बैठकले गठन गरेको सुझाव कार्यदलले तयार गरेको सुझाव मुख्यमन्त्रीलाई बुझाइएको नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश इञ्चार्ज शेरधन राईले जानकारी दिनुभयो । पार्टी प्रदेश कमिटीको तर्फबाट मुख्यमन्त्री कार्कीलाई २२ बुँदे नीतिगत र कार्यक्रमिक सुझावहरू पेश गरिएको उहाँले बताउनुभयो ।

सुझावहरूमा विकास निर्माण, सुशासन, रोजगारी, कृषि, स्वास्थ्य स्थानीय उत्पादनको प्रवर्धन लगायतका विषय समेटिएको उहाँले जानकारी दिनुभयो । सुझाव पत्रमा निर्माणाधीन आयोजनाहरूको वर्गीकरण गरी सम्पन्न हुने चरणमा रहेका योजनाहरूलाई प्राथमिकतामा राख्न आग्रह गरिएको छ । त्यस्तै मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत पर्ने ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम र पाँचथरका मुख्य सहर तथा बजार केन्द्रहरूलाई समेट्ने गरी प्रत्येक जिल्लामा कम्तीमा ५/५ वटा वटा योजना ल्याउन सुझाव दिएको छ ।

तरकारी तथा मसलाजन्य वस्तुमा प्रदेशलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्न एमालेले सुझाव दिएको छ ।  अर्ग्यानिक मल, गुणस्तरीय बीउ उत्पादन र दक्ष जनशक्ति व्यवस्थापनमा ध्यान दिन, चिया, कफी, एभोकाडो, ड्रागन फ्रुटजस्ता नगदे बाली प्रवर्द्धन एमाले प्रदेश सरकारलाई सुझाव दिएको छ ।

प्रदेशभित्र कार्यरत क्युपेक श्रमिक तथा मजदुरहरूलाई सीप अभिवृद्धि तालिम दिई प्रमाणपत्र र लाइसेन्स वितरण गर्न, श्रमिकहरूलाई  सामाजिक सुरक्षा कोषमा आबद्ध  गराउन पनि सुझाव दिएको छ ।

प्रदेशका बहुसङ्ख्यक नागरिकले प्रयोग गर्ने भाषालाई कामकाजको भाषा बनाउन तथा देवनागरीसँगै स्थानीय भाषामा पनि सरकारी कार्यालय, विद्यालय तथा संस्थाका नाम राख्न सकिने व्यवस्था गर्न एमालेले सुझाएको छ ।

एमालेले जिल्ला अस्पतालहरूलाई विशेषज्ञ सेवा केन्द्रको रूपमा विकास गर्ने र पालिका स्तरमा दक्ष जनशक्ति परिचालन गर्न सुझाव दिएको छ । युवाहरूलाई रोजगारीमुखी बनाउन प्रत्येक पालिकामा १५ जनालाई समेट्ने स्टार्टअप कार्यक्रम ल्याउनुपर्ने सुझाव एमालेको छ ।

मुख्यमन्त्री कार्कीले पार्टीले दिएका सुझावलाई सकेसम्म कार्यक्रम  र बजेटमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।