जनता टाइम्स

२० भाद्र २०७७, शनिबार १०:१२

विराटनगरमा उपचारका क्रममा दुई कोरोना संक्रमित महिलाको मृत्यु


मोरङ,  भदौ २०। मोरङको विराटनगरका दुई कोरोना संक्रमित महिलाको उपचारका क्रममा मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा दुई जना महिलाको शुक्रबार साँझ मृत्यु भएको हो । कोशी अस्पतालमा शुक्रबार साँझ ७ : ३० बजे मृत्यु भएकी महिलाको आज बिहान ८ बजे कोरोना रिपोर्ट पोजेटिभ आएको अस्पतालले जनाएको छ । विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया महिलालाई ज्वरो, झाडापखाला र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि शुक्रबार दिउँसो ३ बजेतिर कोशी अस्पताल लगिएको थियो । उनको शुक्रबार साँझ ७:३० बजे मृत्यु भएको हो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पनि विराटनगर महानगरपालिका–११ की ४३ वर्षीया महिलाको शुक्रबार साँझ ६स्३० बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो । श्वासप्रश्वासमा समस्या भएपछि न्यूरो अस्पताल विराटनगरले उनलाई यही भदौ १८ गते धरान रेफर गरेको थियो ।