जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार ११:५२

नेपालमा प्रत्येक वर्ष चार लाख रोजगारी सिर्जना : विश्व बैंक


काठमाडौं, भदौ २६

विश्व बैंकले नेपालमा पछिल्लो एक दशकदेखी प्रत्येक वर्ष चार लाख रोजगारी सिर्जना भइरहेको जनाएको छ । बैंकको एक अध्ययन अनुसार गत एक दशकमा झण्डै ४० लाख नयाँ रोजगारी सिर्जना भएको देखाएको हो ।

नेपालमा रोजगारीको विषयमा बैंकले सार्वजनिक गरेको नयाँ प्रतिवेदन अनुसार बितेका १० वर्षमा औसत रोजगारीको गुणस्तरमा पनि अर्थपूर्ण सुधार भएको जनाएको छ । नेपालबाट वार्षिक ४ लाख भन्दा बढी युवा रोजगारी खोज्दै विदेश पुग्ने तथ्यका बीच विश्व बैंकले भने हरेक वर्ष देशभित्र औसतमा ४ लाख नयाँ रोजगारीको अवसर सिर्जना भइरहेको तथ्यांक सार्वजनिक गरेको हो । यद्यपि, सिर्जना भएका रोजगारीलाई अझ गुणस्तरीय, स्थिर तथा राम्रो सेवा सुविधासहितको बनाउन आवश्यक रहेको उल्लेख गरेको छ ।

नेपालको कृषिमा आधारित अर्थप्रणाली क्रमशः आधुनिक उद्योग र सेवा क्षेत्रमा रुपान्तरण हुँदै गएसँगै गुणस्तरीय कामका अवसरहरु खुलेका हुन् । कामका अवसर बढेपनि सबै बेरोजगारले रोजगारीको अवसर भने पाउन नसकेको र खासगरी महिलाले अवसर नपाएको विश्व बैंकले उल्लेख गरेको छ । कुल रोजगारी मध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ सम्ममा आइपुग्दा २४ प्रतिशत पुगेको जनाइएको छ ।