जनता टाइम्स

२६ भाद्र २०७७, शुक्रबार १२:१०

नेपालमा कोरोनाबाट हुने मृत्युदरमा आयो कमि, शुक्रबार दुई जनाको मृत्यु


काठमाडौं, भदौ २६

नेपालमा पछिल्लो केही दिनदेखी कोरोना भाइरसका कारण मृत्यु हुने संख्यामा कमि आउन थालेको छ । दैनिक संक्रमण हुने दर लगभग स्थिर रहेपनि मृत्युदरमा भने कमि देखिएको हो । पछिल्लो तीन दिनमा १७ जनाको मृत्यु भएको छ । यसअघि दैनिक सरदर १० जनाको मृत्यु हुने गरेकोमा पछिल्ला तीन दिनमा दैनिक ६ जनाको मृत्यु भएको देखिएको छ ।

मंगलबार र बुधबार ६÷६ जनाको मृत्यु भएको थियो भने विहिवार ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । शुक्रबार थप दुई जनाको मृत्यु भएको छ । काठमाडौंमा एक पुरुष र चितवनमा एक महिलाको मृत्यु भएको हो ।

कोरोना भाइरसको संक्रमणबाट काठमाडौंका ६३ वर्षीय संक्रमितको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका अनुसार भदौ २४ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेका ती पुरुषको शुक्रबार बिहान ३ बजे उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, पुरानो मेडिकल कलेजमा उपचाररत एक वृद्धाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला रहेकी छन् । दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी उनको २४ गते दिउँसो उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो । मृत्युपछि आज बिहान आएको पिसिआर नतिजामा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।