काठमाडौं, भदौ ३०
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार स्वयंले व्यहोर्नु पर्ने निर्णय गरेको छ । इन्सिडेन्ट कमाण्ड सिस्टमको भदौ २८ गते बसेको बैठकले कोरोना उपचार, रेम्डिसिभिर तथा क्वारेन्टिन व्यवस्थापनको सम्बन्धमा १२ वटा निर्णय गरेको हो । जसअनुसार विपन्न नागरिकको मात्रै उपचार सरकारले बेहोर्ने, लक्षण देखिएका व्यक्तिहरुको मात्र उपचार उपचार व्यवस्थापन मिलाउने, ४ अस्पतालमा आएको फरक–फरक पीसीआर रिपोर्टका सम्बन्धमा नमुना पुनः परीक्षण गर्न लगाई सत्यतथ्य पत्ता लगाउने, बंगलादेशबाट आएको रेम्डिसिभिर प्रयोग गर्न सूचीकृत अस्पतालहरुलाई वितरण गर्ने लगायतका निर्णयहरु भएका छन् ।
यस्तै विदेशबाट नेपाल प्रवेश गरेका तथा एक जिल्लाबाट अर्को जिल्लामा आवतजावत गर्ने हरेक व्यक्ति १४ दिन क्वारेन्टिन बस्नुपर्ने व्यवस्था लागू गर्ने, सो अवधिमा कुनै लक्षणहरु देखिएमा ती व्यक्तिहरुको निशुल्क परीक्षण गर्ने गरि निर्देशिका परिमार्जन गर्ने लगायतका निर्णयहरु भएका छन् । यी निर्णय कार्यान्वयनका लागि कमाण्ड सिस्टमले मातहत निकायलाई पत्र पठाइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्