काठमाडौं, असोज २ । नेपाल उद्योग परिसंघ (सिएनआई_ ले तीन अर्ब भन्दा कम रकमको ठेक्कामा विदेशी कम्पनीलाई रोक्न सुझाव दिएको छ । प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँगको भेटमा परिसंघले सो सुझाव दिएको हो ।
परिसंघ अध्यक्ष सतिश मोर नेतृत्वको टोलीले कुसलतापुर्वक अर्थमन्त्रीको जिम्मेवारी पूरा गरी बिदा भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष आर्थिक सल्लाहकारमा नियुक्त हुनुभएका डा. खतिवडासँग आज भेट गरी आफ्नो सुझाव राखेको हो । सो क्रममा परिसंघले ३ अर्ब भन्दा ठूलो रकमका ठेक्कामा मात्रै विदेशी कम्पनीलाई प्रवेश दिने व्यवस्था गर्न माग गरेको छ । अहिले एक अर्ब भन्दा ठुला रकमका ठेक्काहरुमा विदेशी कम्पनीहरुलाई अनिवार्य गरिएको छ ।
परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको औद्योगिक लगानी प्रवद्र्धन बोर्डमार्फत फाष्ट ट्रयाकबाट लगानी अवरोध गर्ने कानुनहरु संशोधन गर्नको लागि समिति बनेकोमा सरकारलाई धन्यवाद समेत दिएको छ । परिसंघले कम्तिमा २ वर्षको लागि त्यस्ता कानुनहरुलाई थाति राखेर वा संशोधन गरी लगानीको वातावरण बनाउनु पर्नेमा जोड दिएको छ । परिसंघले मेक इन नेपालको अवधारणाले साकार दिन सरकारले पनि ठोस कदम चाल्नुपर्नेमा पनि जोड दिएको छ ।
भेटमा ब्यवसायीहरुले उद्योगहरुमा कार्यरत कर्मचारी वा कामदारमा संक्रमण भेटिएमा कन्ट्याक ट्रेसिङको आधारमा कर्मचारी तथा कामदारको पिसिआर टेष्ट गराएर बाँकी कर्मचारी तथा कामदारबाट उद्योग सञ्चालन गर्ने व्यवस्था गर्ने ब्यवस्था हुनुपर्ने माग पनि गरेको छ । पर्यटन क्षेत्रलाई व्यवस्थित गर्दै होटल तथा पर्यटक गन्तव्यहरुलाई पूर्णरुपमा सञ्चालन गर्नु पर्ने, चौध दिनसम्मको क्वारेन्टाइनको व्यवस्थालाई परिमार्जन गरी तीन दिनको क्वारेन्टाइनको व्यवस्था गर्नु पर्ने माग पनि उनीहरुको छ ।
परिसंघले मदिरा उद्योगीहरुलाई सहज ढंगले सञ्चालन हुने वातावरण बनाउन माग पनि गरेको छ । भेटमा अध्यक्ष मोर सहित वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरु क्रमशः अनुज अग्रवाल र विरेन्द्र कुमार पाण्डे सहभागी हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्