सिन्धुपाल्चोक, असोज ९ । मध्यरातमा गाउँपालिकाले घरमुनि डोजर चलाउँदा सुनकोसी गाउँपालिका ७ जामुनेमा एक स्थानीयको घरबास जोखिममा परेको छ । साताअघि गाउँपालिकाले मध्यरातमा घरमुनी डोजर लगाएपछि स्थानीय धुम्मे तामाङको घरवास जोखिममा परेको हो ।
‘घर जोगाई देउ भन्दा गाउँपालिकाले डोजर लगाइदियो, पहिरोले घर तान्यो अब कहाँ गएर बसौँ ?’, पीडित धुम्मे तामाङले भन्नुभयो । घर जोगाउनका लागि पर्खाल लगाइ देउ भनेर निवेदन दिँदा उल्टै गाउँपालिकाले मध्यराती डोजर लगाएर पहिरो निम्त्याएको पीडित तामाङले बताउनु भयो । ‘सडक खोल्दा सानो पहिरो थियो, त्यहाँ पर्खाल लगाइदेउ भन्दा वरसम्म डोजर लगाएर पहिरो खस्यो,’ तामाङले भन्नुभयो ।
उहाँका अनुसार गत साउन २५ गते साँझ तामाङको घरमुनी गाउँपालिकाको डोजर आयो । गाउँपालिका अध्यक्ष श्रवणकुमार जिसीको निर्देशनमा गाउँ प्रहरी सुवास तामाङको नेतृत्वमा मेसिन लगाई बेहाल बनाएको पीडित परिवारले बताएको छ । परिवारसँग केही सल्लाह नै नगरी झरीको समय त्यसमाथि पनि राति १० बजेसम्म बत्ति बालेर डोजरले खने । ‘बत्ति बालेर घरमुनी डोजरले खनिरहेका थिए, हामीले नखन्नु भन्दा कसैले सुनेनन,’ पीडित धुम्मे तामाङकी छोरी प्रेमिकाले सुनाईन ।
पहिरोले घरमा बस्नै नसकिने भएपछि पीडित परिवार वडा कार्यालय र गाउँपालिकामा निवेदन लिएर पुगे । वडा कार्यालयले गाउँपालिकामा पठाएपछि गाउँपालिका पुगेका उनीहरु अपमानित भएर फर्कनुपरेको बताउँछन् । गाउँपालिकाले त्रिपाल र टेण्ट लैजानु भनेपनि धुम्मेले केही लिएनन । ‘घरमुनी ल्याएर मनलाग्दी रुपमा डोजरले खन्ने अनि त्रिपाल लैजाउ भन्ने ?,’ धुम्मेकी छोरी रस्मिताले भन्नुभयो । ‘किन मध्यराती हाम्रो घरमुनी डोजर चलायो छानविन सहित घर सुरक्षा गर्दिनुपर्यो भनेर निवेदन दिँदा अध्यक्षले निवेदन नै फलिदिनुभो,’ रस्मिताले भन्नुभयो ।
पीडित रस्मिता तामाङका अनुसार घरबास जोगाईदेउ भनेर गाउँपालिका अध्यक्षलाई भेट्न जाँदा अध्यक्ष जिसीले मैले पहिरो लाइदिएको हो र ?, लु मेरै घर ठोकर्पामा गएर बस्नु’ भनी गैरजिम्मेवार तर्क गर्नुभएको थियो । भूकम्पपछि जसोतसो बनाएको घर पहिरोको जोखिममा परेपछि यतिबेला धुम्मे तामाङको परिवार चिन्तामा परेको छ । पीडितहरु जोखिमयुक्त घरमै बसोबास गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्