जनता टाइम्स

१८ आश्विन २०७७, आईतवार १७:०३

लठ्ठिने औषधी खुवाएर भक्तपुरमा मिनिबसभित्रै सामुहिक बलात्कार, प्रहरीले पक्राउ गर्यो दुई अभियुक्त


भक्तपुर, असोज १८ । नसालु औषधी सेवन गराएर एक किशोरीमाथि सामुहिक बलात्कार गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार लठ्ठिने औषधी खुवाएर १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका हुन ।

महानगरीय प्रहरी वृत्त जगातीले शनिबार राति ११ बजे भक्तपुर नगरपालिका ८ बाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी गाँउपालिका १० का २२ वर्षीय निरकुमार खड्का र जुगल गाँउपालिका ४ का २१ वर्षीय सुरेश श्रेष्ठ रहेका छन । प्रहरीका अनुसार खडका र श्रेष्ठले बा ३ ख २६१२ नम्बरको मिनीबसमा लगेर किशोरीको सामुहिक बलात्कार गरेका थिए।

भक्तपुर प्रहरी परिसरका प्रवक्ता निरीक्षक सुवास बुढाथोकीले दिनुभएको जानकारीअनुसार खडका र श्रेष्ठले ती किशोरीलाईशुक्रवार र शनिवार (असोज १६ र १७ गते ) पटक–पटक बलात्कार गरेको पाइएको छ । ती किशोरीका परिवार अहिलेसम्म सम्पर्कमा आएका छैनन । सिन्धुपाल्चोक घर भएकी ती किशोरी अहिले वृत्त जगातीको संरक्षणमा रहेकी छिन ।

प्रहरीका अनुसार पीडित किशोरीले बलात्कारी दुवै जनाले लठ्ठिने औषधी खुवाएर बसमा बलात्कार गरेको जानकारी गराएकी छन । घटनामा संलग्न अर्का एक जनाको पनि संलग्नता रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।