काठमाडौं, असोज २०
पछिल्लो २४ घण्टामा देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर १५५१ जना संक्रमित थपिएको जानकारी दिनुभयो । त्यस्तै काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जनालाई कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. गौतमले दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
हालसम्म नेपालमा १० लाख ९९ हजार २७६ जनाको पिसिआर परीक्षण गरिएको पनि उहाँले जानकारी दिनुभयो । आजको तथ्यांकसहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९० हजार ८१४ जना पुगेको छ । आज २२ हजार ७०९ जना सक्रिय संक्रमित रहेका छन । त्यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २३४० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।
यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६७ हजार ५४२ पुगेको छ । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार डिष्चार्ज हुनेमा प्रदेश १ मा ६०३६, प्रदेश २ मा १४८५१, बागमति प्रदेशमा २२४२५, गण्डकी देशमा ३८६९, प्रदेश ५ मा ९८६७, कर्णाली प्रदेशमा ३२६८ र सुदुरपश्चिम प्रदेशमा ७२२६ जना कोभिड संक्रमणबाट मुक्त हुनुभएको छ ।
मन्त्रालयका अनुसार आजसम्म डिस्चार्ज हुनेको यो संख्या ७४.३ प्रतिशत हो । संस्थागत आइसोलेसनमा ९ हजार ११८ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा १३ हजार ५९१ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ४ हजार २२१ रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पाँच सय बढी सक्रिय संक्रमित जिल्ला हाल मोरङ, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन र रुपन्देही रहेको छ भने मनाङ, मुस्ताङ, डोल्पा, रुकुम पूर्व र सोलुखुम्बु संक्रमण शून्यमा झरेको छ।
प्रतिक्रिया दिनुहोस्