जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार १२:१९

विराटनगर र धरानमा दुई कोरोना संक्रमितको मृत्यु


विराटनगर, असोज २२

मोरङको बिराटनगर र सुनसरीको धरानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङका कोरोना संक्रमितको घरमै र धरानका संक्रमितको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
कोरोना संक्रमणपछि घरमै बसिरहेका बिराटनगर महानगरपालिका–५ का ८२ वर्षीय वृद्धको बिहीबार बिहान ६ः३० बजेतिर मृत्यु भएको विराटनगर महानगरपालिकाका नगर प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार वृद्धलाई १९ असोजमा कोरोना संक्रमण देखिएको थियो । उहाँमा ज्वरो आउने, श्वास फेर्न गाह्रो हुनेलगायत लक्षण देखिएको थियो । परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि पनि उहाँ आफ्नै घरमै बसिरहनुभएको थियो । सोमबार बिराटनगर महानगरपालिका–११ पिचराका एक वृद्ध पुरुषको पनि घरमै मृत्यु भएको थियो । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरेका ८८ वर्षीय वृद्धको सोमबार राति ११ बजे घरमै मृत्यु भएको थियो ।

मृत्यु पश्चात मंगलबार उहाँको कोरोना जाँच रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सुनसरीको धरान–१० घर भएका ३९ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उहाँ भोलिपल्ट अस्पताल भर्ना हुनुभएको थियो । बिहीबार बिहान ४ः३० बजे उनको मृत्यु भएको प्रतिष्ठानका सहायक प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।