जनता टाइम्स

३० आश्विन २०७७, शुक्रबार १६:०४

प्रहरीलाई यस्तो छ, प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, असोज ३०

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा हुने आपराधिक क्रियाकलाप रोक्न प्रहरीले कुनै पनि प्रकारको दबाव र प्रभावमा पर्न नहुने स्पष्ट पार्नुभएको छ । नेपाल प्रहरीको ६५ औँ स्थापना दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले समाजमा अराजकता तथा वितण्डा मच्चाउन खोज्ने तत्वप्रति सधैं चनाखो भई कडा कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरीको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

उहाँले बलात्कार र हिंसा जस्ता जघन्य अपराध समाजका लागि क्षम्य नहुने प्रष्ट पार्नुहुँदै त्यसको नियन्त्रणका लागि सरकारले कानून ल्याएको बताउनुभयो । प्रधानमन्त्री ओलीले सीमीत स्रोत, साधनबीच पनि नेपाल प्रहरीले अपराध अनुसन्धान तथा शान्ति सुरक्षा अमनचयन कायम राख्न निर्वाह गर्दै आएको जिम्मेवारी प्रशंसनीय रहेको बताउनुभएको छ ।

त्यस्तैं, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले केही हप्ताअघि बुढीगण्डकी आयोजनामा शीर्ष नेताले ‘घुस’ लिएको विषयमा दिएको अभिव्यक्तिप्रति संकेत गर्दै प्रधानमन्त्री ओलीले गैरजिम्मेवार र जनमानसमा भ्रम छर्नलाई भएको भन्दै आपत्ती जनाउनुभएको छ । उहाँले भन्नुभयो,‘आयोजना निर्माणका विषयमा कुनै निर्णय नै नभइसकेको अवस्थामा यति अर्ब उति अर्ब बाँढेर खाए भन्नु गैरजिम्मेवार अभिव्यक्ति हो ।’

‘देश र जनतालाई गलत सूचना दिएर, भ्रममा पारेर, भड्काएर, गलत बाटोमा लाने कुचेष्टा, हर्कत हामी गर्दैनौँ । हामी सत्य, निष्ठा र जिम्मेवारी भावका साथ मात्रै अगाडि बढ्न सक्छौ उहाँले थप्नुभयो ।’ प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टाचारमा शुन्य सहनशीलताको रणनीति अख्तियार गरी राज्यका सबै निकायलाई पारदर्शी र जिम्मेवार बनाइएको बताउनुभयो ।