जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार ११:१०

क्यानडाले १२ लाख आप्रवासी भित्र्याउने


ओटावा, कात्तिक १५

क्यानडाले आगामी ३ वर्षमा १२ लाख आप्रवासी भित्र्याउने योजना सार्वजनिक गरेको छ । शुक्रबार संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले कोरोनाले शिथिल बनाएको अर्थतन्त्र उकास्नमा आप्रवासीले ठुलो टेवा पु¥याउने भन्दै यस्तो योजना सार्वजनिक गर्नुभएको हो । मुलुकलाई ठुलो संख्यामा जनशक्ति आवश्यक पर्ने भन्दै उहाले आप्रवासनद्वारा त्यसलाई परिपूर्ति गर्ने योजना रहेको बताउनु भयो ।

राजधानी ओटावामा संवाददाताहरूसँग कुरा गर्दै मन्त्री मेन्डिसिनोले सन् २०२१ मा ४ लाख १ हजार आप्रवासीलाई स्थायी बसोबास (पीआर) अनुमति दिइने बताउनु भयो । त्यस्तै २०२२ मा थप ४ लाख ११ हजार र २०२३ मा ४ लाख २१ हजार नयाँ आप्रवासीलाई पीआर अनुमति दिइने उहाको भनाई छ । ‘क्यानडालाई थुप्रै कामदारहरू चाहिन्छ’, उहाले भन्नुभयो, ‘त्यो परिपूर्ति गर्ने उपाय आप्रवासन हो।’

मन्त्री मेन्डिसिनोले कोरोनाले मुलुकको अर्थतन्त्रलाई निकै क्षति पुगेको भन्दै आप्रवासन महत्वपूर्ण रहेको बताउनु भयो । ‘महामारी पहिले आप्रवासनद्वारा अर्थतन्त्र माथि लैजाने तथा सरकारको लक्ष्य प्राप्तिका लागि आप्रवासन महत्वकांक्षा थियो’, उहाले भन्नुभयो, ‘यो अहिले अपरिहार्य छ।’ यदि सरकारको यो नीति कार्यान्वयन भए सन् १९११ पछि सबभन्दा बढी क्यानडामा आप्रवासी भित्रिने इतिहास बन्नेछ ।