जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १६:२२

आज नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै


काठमाडौं, कात्तिक २८

कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदै छ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजा आराधना गरे लक्ष्मी स्थिर भई बस्छिन् भन्‍ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुन–चाँदीको गहना किनेर ल्याउने चलन छ ।

भाण्ड त्रयोदशीसमेत भनिने आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा ग्राहकको भिड लाग्छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा सजाएर राखिएका छन् । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण विगत वर्षमा जस्तो भाँडाको व्यापार नभएको चाबहिलमा भाँडा पसल सञ्चालन गर्दै आएका रामबहादुर श्रेष्ठ बताउँछन् ।

यमपञ्चकको पहिलो दिन बिहीबार साँझदेखि यमराजलाई प्रसन्‍न बनाउन घरमा परिवार सङ्ख्या अनुसार यमदीप दान सुरु भएको छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्‍ग निर्णायक समिति अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।

मनाइयो काग तिहार

साँझको समयमा कात्तिक कृष्ण त्रयोदशी भएका दिनदेखि यमदीप दान सुरु गर्नुपर्ने भएकाले बिहीबार साँझदेखि सुरु भएको समितिले जनाएको छ । सूर्योदयकालमा त्रयोदशी भएका दिन गर्नुपर्ने काग पूजा भने आज बिहान मीठा परिकार खान दिएर गरिएको छ । कागलाई सन्देशवाहकका रुपमा पूजा गरी मीठा खानेकुरा खान दिइन्छ ।

कागले यमदूतका रुपमा समेत काम गर्ने विश्वास गरिन्छ । घरमा काग कराए केही सन्देश ल्याएको मानिन्छ । काग कराउँदा शुभ बोल, शुभ बोल भन्ने चलनसमेत छ । कार्तिक कृष्ण त्रयोदशीदेखि शुक्ल द्वितीयासम्म पाँच दिनसम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ । तिहारलाई नेपालीले दोस्रो ठूलो चाडका रुपमा मनाउँछन् ।