काठमाडौँ, मंसिर ४ ।कोभिड–१९ विरुद्ध चीनले विकसित गरेको खोप मध्य चरणको परीक्षणमा सफल भएको अनुसन्धानकर्ताहरूले बताएका छन् । चीनले कोभिड–१९ विरुद्ध विभिन्न खोपहरू तयार गरिरहेको छ । तीमध्ये केही खोप स्वास्थ्यकर्मी तथा अग्रमोर्चामा खटिएका सुरक्षाकर्मीमा लगाइसकिएको छ ।
सिनोभ्याक बायोटेकले विकसित गरेको ‘कोरोनाभ्याक’ खोपले तीव्र रूपमा रोग प्रतिरोधी क्षमता विकसित गरेको अनुसन्धानकर्ताहरूले जनाएका छन् । उक्त परीक्षण ७४४ जनामा गरिएको हो । युरोप तथा अमेरिकामा निर्मित खोपहरूको ठूलो स्तरको परीक्षणका आधारमा ती खोपहरू सफल रहेका समाचार आइरहेका बेला चिनियाँ अनुसन्धानकर्ताहरूको घोषणा सार्वजनिक भएको हो ।
फाइजरले आफूले बनाएको कोरोना भाइरसविरुद्धको खोपले ६५ वर्षभन्दा बढी उमेर समूहका मानिसमा पनि ९४ प्रतिशत सफल भएको दाबी गरेको छ ।
अमेरिकी कम्पनी फाइजर र जर्मनीको बायोन्टेकले मिलेर यो खोप बनाइरहेका छन् । तेस्रो चरणको परीक्षणका क्रममा यो खोपले सबै उमेर समूहका मानिसमा एक समान असर देखा परेको कम्पनीले जनाएको छ।
दुवै कम्पनीले अब खोपको आपतकालिन प्रयोगका लागि अमेरिकामा आवेदन गर्ने जनाएका बीबीसीले खबरमा उल्लेख । विश्वका ४१ हजार मानिसमा परीक्षण गरिसकेको कम्पनीको दाबी छ । अघिल्लो हप्ता कम्पनीले खोप ९० प्रतिशत सफल रहेको दाबी गरेको थियो । भने सुरक्षाको लागि पनि कुनै चिन्ता नलिन आग्रह गरेको थियो । अझै पूरा नतिजा आउन बाँकी छ । तैपनि उसले फेरि सुरक्षालाई लिएर गम्भीर असर नभएको बताएको छ ।
परीक्षणमा सम्मिलित ४२ प्रतिशत मानिस अलगअलग उमेर समूहका रहेका छन् । ४१ प्रतिशत ५६ देखि ८५ वर्ष उमेर समूहका रहेका थिए । अहिले अमेरिका, जर्मनी, टर्की, दक्षिण अफ्रिका, ब्राजिल र अर्जेन्टिनमासमेत गरी विश्वभर १ सय ५० ठाउँमा भ्याक्सिनको परीक्षण चलिरहेको छ ।
कम्पनीले सन २०२० को अन्त्यसम्ममा पाँच करोड डोज र २०२१ को अन्त्यसम्ममा एक अर्ब ३० करोड डोज उत्पादन गर्ने जनाएको छ । बेलायतले यो खोपको ४ करोड डोज अर्डर गरिसकेको छ । बेलायतले अक्सफोर्ड र एस्ट्राजेनेको खोपको पनि १० करोड डोजको अर्डर गरिसकेको छ ।
अक्सफोर्डले पनि आफूले बनाइरहेको कोरोना भाइरसविरुद्धको खोपको तेस्रो चरणको परीक्षणको नतिजा छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्