जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार ११:५७

निकिशा श्रेष्ठमाथी दुर्व्यवहार गर्ने एक व्यक्ति पक्राउ


काठमाडौं, मंसिर ४

निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा अपलोड गर्ने एक युवक पक्राउ परेका छन् । सो भिडियो टिकटकमा अपलोड गर्ने विशेष जोशी पक्राउ परेका हुन् ।

साइबर ब्युरोले भक्तपुर नगरपालिका–२ टौमढीका उनलाई बिहीबार बिहान पक्राउ गरेको जानकारी दिएको छ । ब्युरोका प्रहरी नायब उपरीक्षक पशुपति रायका अनुसार उनले टिकटकमा भिडिओ अपलोड गरेका थिए । निकिशामाथि भक्तपुरमा दुर्व्यवहार भएको भिडिओ सार्वजनिक भएपछि चर्को विरोध भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय कार्यालयले साइबर ब्युरोलाई छानविन र अनुसन्धान गर्न पत्राचार गरेको थियो । सामाजिक सञ्जालमा भिडिओ खिच्ने व्यक्ति उनी हुन् भनेर बाहिर आइसकेको थियो । यसबारेमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । सार्वजनिक भएको भिडिओमा निकिशामाथि लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको छ । आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले ती मानिसलाई लखेटेको पनि भिडिओमा देखिन्छ ।