जनता टाइम्स

८ मंसिर २०७७, सोमबार १३:०७

कोरोनाका बीच एक महिनामा दुई हजार पर्यटक आए नेपाल


काठमाडौं, मंसिर ८

कोरोना महामारी जारी रहेका बेला कात्तिक महिनामा २ हजार जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार कात्तिक महिनामा २ हजार ९ जना पर्यटक नेपाल आएका हुन् । यसमध्ये १३ सय ७० जना पुरुष र ६ सय ३९ जना महिला पर्यटक रहेका छन् ।

सबैभन्दा धेरै अमेरिकाबाट ४ सय ५५ जना र बेलायतबाट ३ सय २६ जना पर्यटक नेपाल आएका छन् । यस्तै चीनबाट १ सय ६१ जना, भारतबाट १ सय २५ जना र रुसबाट ८१ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सरकारले हवाइ यातायातको माध्यमबाट नेपाल भित्रने सबै विदेशीलाई पर्यटकको दर्जामा राख्दै आएको छ । पछिल्लो समय सरकारले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्दै पदयात्रा र पर्वतारोहणको लागि पर्यटक आवागमन खुला गरेपछि घुम्नकै लागि आउने विदेशी बढेका विभागले जनाएको छ ।