एजेन्सी, मंसिर १०
टेस्ला कम्पनीका मालिक एलन मस्कले २०२० मा मात्र आफ्नो सम्पत्तिमा १००.३ अर्ब डलर थपेपछि उहाँले विश्वको सर्वाधिक धनी व्यक्तिहरुमा, माइक्रोसफ्टका बिल गेट्सलाई हराउनुभएको छ । ४९ वर्षीय मस्कको सम्पत्ति, टेस्लाको सेयरमा भएको ठूलो वृद्धिपश्चात् ७.२. अर्ब डलरबाट बढेर १२७.९ अर्ब डलर पुगेको हो । सोमबारको दिनमा मात्र मस्कको सम्पत्तिमा ७.२ अर्ब थपिएको थियो ।
यसरी गत जनवरीमा उहाँ ब्लुमबर्गको सर्वाधिक धनीको सूचीमा ३५औं स्थानमा हुनुहुन्थ्यो भने हाल अचानक विश्वकै दोस्रो सबैभन्दा धनी व्यक्ति बन्न पुग्नुभएको हो । उहाँको सम्पत्तिको ठूलो हिस्सा विद्युतीय कार अटोमेकरबाट प्राप्त भएको हो जसको बजार भाउ टेस्लाको सेयर वृद्धिपछि ५०० अर्ब डलर पुगेको छ । टेस्लाबाहेक उहाँले नै सुरु गर्नुभएको अर्को अन्तरिक्ष खोज कम्पनी, ‘स्पेसएक्स’ मा पनि मस्कको उत्तिकै शेयर रहेको छ ।
टोयोटा फक्सवागन, जनेरल मोटर्सलगायत प्रतिस्पर्धी कम्पनीहरुभन्दा तुलनात्मक रुपमा थोरै उत्पादन गरे पनि टेस्ला कम्पनी विश्वकै मूल्यवानमा पर्छ । महामारीका बावजुद कम्पनीमा कारको व्यापार फाइदाजनक रहेको थियो । ब्लुमबर्ग इन्डेक्सको आठ वर्षको इतिहासमा यो दोस्रोपटक बिल गेट्स दोस्रो स्थानबाट तल झरेका हुन् । त्यसअघि उहाँले धनी व्यक्तिहरुको सूचीमा नम्बर १ स्थान कायम गर्दै आउनुभएको थियो तर अमेजोनका जेफ बेजोसले २०१७ मा उहाँलाई हराएपछि दोस्रोमा रहँदै आउनुभएको थियो ।
गेट्सको कुल सम्पत्ति १२७.७ अर्ब डलर छ जुन वास्तवमा अझै बढी हुने थियो तर उहाँ लगातार विभिन्न च्यारिटीका कार्यक्रममा सहभागी भइ दान गर्ने गरेपछि यस्तो स्थिति देखिएको हो । २००६ देखि हालसम्म उहाँले २७ अर्ब डलरभन्दा बढी परोपकारी गतिविधिमा दान गरिसक्नुभएको छ । २०२० मा कोरोना महामारीका कारण विश्वव्यापी अर्थतन्त्र प्रभावित भइरहे पनि ठुल्ठूला कम्पनी फाइदै फाइदामा रहँदा धनाढ्य वर्गहरुको सम्पत्ति झन् धेरैले बढेको तथ्याङ्कले देखाएको छ ।
प्रतिक्रिया दिनुहोस्