जनता टाइम्स

१६ मंसिर २०७७, मंगलवार १३:५३

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, यस्तो छ दुवै पक्षको रणनीति


काठमाडौं, मंसिर १६ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले राख्नुभएको प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक तय गरेपनि आजको बैठक पुनः बालुवाटारमै सारिएको हो । शनिबार बसेको बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मंगलबारको बैठक पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने तय भएको जानकारी गराउनुभएको थियो । तर आज सवै नेताहरुको सल्लाहमा प्रधानमन्त्रीको कार्यव्यस्ततालाई ध्यान दिंदै बालुवाटारमै बैठक बसेको हो ।

शनिबार बसेको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेश गर्नुभएको थियो । सो प्रस्ताव सचिवालयका सबै सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको थियो । आजको बैठकमा अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत प्रस्तावका विषयमा समेत छलफल शुरु हुने सचिवालयका सदस्यहरुको भनाई छ । दुई अध्यक्षको फरक फरक प्रस्ताव बैठकमा आएपछि बढेको विवादलाई सल्टाउन आवश्यक परामर्शपछि दुवै अध्यक्षको संयुक्त प्रस्तावका लागि सचिवालयका सदस्यहरुले आजदेखि सुझाव प्रस्तुत गर्नुहुनेछ ।

अध्यक्षद्वयको प्रस्तावमाथि सचिवालयका सदस्यहरुले राय सहितको सुझाव राख्नु भएपछि सचिवालय बैठकले प्रस्तावबारे ठोस निर्णय लिने वा स्थायी समितिमा दुवै प्रतिवेदन लैजाने भन्ने निर्णय लिनेछ । नेकपाले पर्सि अर्थात मंसिर १८ गते स्थायी कमिटी बैठक बोलाएको छ । सचिवालयमा सल्टन नसकेको विषय स्थायी कमिटी बैठकमा छलफलका लागि जाने छ ।

यसैगरी मंसिर २५ गते केन्द्रीय कमिटीको बैठक पनि तय भइसकेको छ । सचिवालय, स्थायी कमिटीमा छलफलपछि विस्तृत छलफल र अनुमोदित एजेण्डालाई केन्द्रीय कमिटीमा लगेर पारित गराउने नेकपाको अन्तरिम विधानमा व्यवस्था गरिएको छ । आजको बैठकमा नेताहरुले आफ्नो सुझाव राखेपछि नेकपाको बिवाद अगाडि बढेर बिभाजनमा जान्छ कि थप एकतावद्ध हुनेछ भन्ने निक्र्याैल गर्नेछ ।

नेताहरुले कार्यकर्ताबीच पुग्दा पार्टी एकतालाई थप बलियो बनाउन अन्तरसंघर्ष भइरहेको बताए पनि बिभाजनकै तयारीमा आन्तरिक गृहकार्य अघि बढाएपछि सचिवालयबाट बिवाद समाधान होला भन्ने अपेक्षा निकै कम रहेको छ । आजको सचिवालय बैठकमा दुवै अध्यक्ष संयमित नभए नेकपा लगभग बिभाजनको दिशातिर जाने खतरा देखिएको छ ।